२०८२ भाद्र २३ गते सोमवार
कलेजमा प्रेम प्रस्ताव राखेपछि अंकमाल गरेका एक जोडीलाई विश्वविद्यालयले निष्काशन गरेपछि यो विषयले अहिले सामाजिक संजाल तातेको छ ।
विश्वविद्यालयको यो निर्णयको समर्थन र विरोधमा मानिसहरु विभाजित भएका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानको युनिभर्सिटी अफ लाहोरले शुक्रबार कलेज परिसरमा अंकमाल गरेका यी जोडीलाई विश्वविद्यालयबाट निश्काहित गर्ने निर्णय गरेको थियो ।
विश्वविद्यालयका रजिष्ट्रारबाट जारी गरिएको एक वक्तव्यका अनुसार विशेष अनुशासन समितिको एक बैठक मार्च १२ का दिन बिहान साढे १० बजे बसेको थियो ।
बैठकमा यी दुई विद्यार्थीलाई उपस्थित हुन बोलाइएको थियो तर उनीहरु उपस्थित भएनन् । त्यसपछि बैठकले ती दुवैलाई विश्वविद्यालयबाट निष्काशित गर्ने र विश्वविद्यालय अन्तर्गतका कुनै पनि कलेजमा पुनः प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
विश्वविद्यालयले उनीहरुले सामान्य अनुशासनात्मक नियम र आचारसंहिताको दफा ९ को उल्लंघन गरेको बताएको छ । यी नियमहरु अनलाइनमा प्रकाशित छैनन् । यो घटनाका कैयौं भिडियोहरु अनलाइनमा पोस्ट गरिएका छन् ।
भिडियोमा एक युवतीले युवकलाई गुलाफका फूल र एउटा कार्ड दिएको देखिन्छ । त्यसपछि उनी घुँडाले टेकेर युवकलाई फूलको बुके दिन्छिन् । युवकले फूलको बुके लिन्छन् र युवतीलाई उठाएर अंकमाल गर्छन् । वरिपरी विद्यार्थीहरुको भिडले उनीहरुलाई हौसला दिन्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij