२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान देशभर मतदान सुरू भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।
मतदाताहरू बिहान ७ बजेभन्दा अगाडि नै मतदानस्थलमा पुगी मतदानका लागि लाइनमा बसेका छन्। राजनीतिक दलका मुख्य नेता तथा उम्मेदवारहरूले पनि बिहानै मतदान गरेका छन्।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्।
यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्।
मतदाता परिचयपत्रसहित आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात हुँदा पनि मतदान गर्न पाइन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij