२०८२ भाद्र २२ गते आइतवार
याङ्गुन । म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। यसैक्रममा हिजो मंगलवार एक महिला गम्भीर घाइते भएकी बताइएको छ ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवअधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ ।
प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन् । तर कसैको मृत्यु भएको छैन। आज बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् ।
यसैबीच म्यानमारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ ।
मंगलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ ।
सेनाले जारी गरेको रात्रिकालीन कफ्र्यूका बेला छापा मारेको बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij