२०८२ भाद्र ३ गते मंगलवार
राजविराज / म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जना क्रिकेट खेलाडीलाई सोमवार नियन्त्रणमा लिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि छ । आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टीमको सदस्य थिएनन् । आलम पूर्वराष्ट्रिय क्रिकेट खेलाडी हुन्, उनले २००८ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर रेकर्ड राखेका छन्।
बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई काठमाडौं पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो ।
यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी– २० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि केन्द्रिय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij