२०८२ भाद्र ३ गते मंगलवार
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्।
स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्।
कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो।
मार्काका अनुसार साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij