२०८२ भाद्र २२ गते आइतवार
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)ले जानकारी गराएको छ ।
उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
“शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन् ।” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।
सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ ।
यसै बीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्याङ्कन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij