२०८२ भाद्र २५ गते बुधवार
अष्ट्रेलियाकी एक पूर्वसांसदले संसद् भवनमै आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन्।
सन् २०१७ मा संसद् भवनभित्रै एक मन्त्रीले आफूलाई गलत तरिकाले छोएको आरोप पूर्वसांसद जुलिया बैंक्सले लगाएकी हुन्।
त्यतिबेलाको घटना स्मरण गर्दै उनले भनिन्, ‘संसदमा भोटिङ भइरहेको बेला एक मन्त्रीले मेरो तिघ्रामा हातको फेरो मारेका थिए।’
बैंक्सको यो भनाइ सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मरिसनको कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको बारेमा कार्यालयलाई थाहा नभएको बताएको छ। बैंक्सले यसबारे पहिले नै बताउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयले उक्त हर्कत गलत भएको स्पष्ट पारेको छ।
पूर्वसांसद बैंक्सले आफूलाई दुर्व्यवहार गर्ने सांसदको नाम भने सार्वजनिक गरेकी छैनन्। तर, ती व्यक्ति अझै मन्त्री रहेको उनले उल्लेख गरेकी छन्।
त्यतिबेलाको घटना सम्झिँदै बैंक्सले भनिन्, ‘हामी धेरैजना रातको समयमा मतदानका लागि प्रतीक्षा गरिरहेका थियौं। ती मन्त्री आए र मेरो छेउमा बसे। उनले आफ्नो हाम मेरो तिघ्रामा राखे र विस्तारै माथितिर सारे। क्याबिनेटको एक सदस्यले संसदमा त्यस्तो हर्कत गर्नु मेरा लागि अविश्वसनीय थियो।’
बैंक्सको यो आरोपले मरिसनको रुढीवादी सरकार र अष्ट्रेलियाको राजनीतिमाथि नै प्रश्न उठाइदिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij