मैले हेरेँ, उहाँले चिम्लनुभयो ती चनाखा आँखा । सदाभन्दा नितान्त पृथक र अनपेक्षित अनुभूति थियो त्यो दुःखद दिन । सूर्यका किरणले लिपिएको थियो आँखाभरिको धर्ती तर उज्यालोको कुनै हिस्सा कहींकतै हुन सकिरहेको थिएन । हो,जिन्दगीले परीक्षा लिइरहेको थियो हामीलाई, गहिरो चोट दिएर । अन्ततः खरानी भयो निमेषभरमै पुनः एक अर्को सपना, जब अभिभावकत्व ग्रहण गरिरहेका बुवालाई अकालमै स्मृतिशेष हुनुभयो । जैविक बुवालाई गुमाएको करिब बाईस वर्षपछि नियतिले पुनः हामीमाझबाट भरोसाको अर्को उज्ज्वल दियो झ्याप्प निभाइदियो , चौतर्फी अन्धकारको राज थोपरेर । अवश्यमेव प्रत्येक जीवनको अन्त्य सालाखाला उस्तैउस्तै हुन्छ, गूँढ सवाल त दिवंगत व्यक्ति कसरी बाँच्यो भन्ने नै हो । त्यसमाथि ब्रह्मलीन मान्छेहरू विस्मृतिको गर्तमा नगाडिँदासम्म, स्मृतिपटबाट नहराउँदासम्म किमार्थ ठहरिन्नन् मृतक र त 'याद' भन्ने शब्द अटाएको होला शब्दकोशमा । नि:सन्देह जीवन मृत्युको विपरीत होइन, बरू एउटा अंशमात्र हो । यसका बाबजुद जब अनायास टेकिराखेको लट्ठी भाँचिन्छ, अचानक देखिराखेको आँखा गुम्छ, अकस्मात हिँडिराखेका गोडा टुक्रिन्छन् तब सहन स्वाभाविक सकसपूर्ण नै हुँदो रहेछ,जति नै धीरताका पाण्डित्य छाँटे पनि ।

***
'मेरो मृत्युमा
कुनै शोकसभाको आयोजना हुने छैन
पार्टीको झण्डा मेरो शवमाथि ओढाइने छैन
कुनै समाचारपत्रको मुखपृष्ठमा
ताजा समाचार बनेर प्रकाशित हुने छैन
म एउटा सामान्य मान्छे ।'
अज्ञात कविका कविताका हरफजस्तै हुनुहुन्थ्यो उहाँ अर्थात् बाबुराम अधिकारी । पेसाले मामुली पूर्व शिक्षक किन्तु चेतनाको चिराग बोक्ने एक कर्मठ पेसाकर्मी । दुनियाँको दर्दमा मल्हम लगाउन तत्पर एउटा दिलदार मान्छे । राजनीतिमा चासो राख्ने एक सचेत नागरिक । कुशासन र कुप्रथा विपरीत खडा हुने एक चेतनशील व्यक्तित्व । परिवर्तनकारी अभियानका एक असल हिमायती । वेदनामा बाँचेका मान्छेहरूको भरपर्दो बैशाखी । उहाँको साङ्गोपाङ्ग परिचय सिर्फ यतिमात्र । अपितु महामारीको सुनामीले स्वाट्टै निलेको नौलो सहरको एक पहिचानविहीन नागरिक बन्नुभयो उहाँ, जीवनको अन्तिम घडीमा ।
***
केही अनौठा विभ्रम थिए उहाँका महामारीको चपेटामा परेपछि । सायद विभ्रमको मलजल गर्ने प्रमुख कारक थियो पहिलो सन्तानको अस्पताल बसाइँ र सघन उपचार कक्षको उपचार । परिवारका अधिकांश सदस्यलाई महामारीले अँचेटेपछि उहाँको तनावले आकाश छोयो । एकातिर घरमा रहेका सबै बिमार र अर्कातिर उपचाररत कुलदीपकलाई प्रत्यक्ष निगरानी गर्न नपाउनुको असह्य पीडा । उहाँको कल्पित थकानका मूल स्रोत यिनै थिए । तनावै तनावको परिणति कतै बाँच्नुमा हीनताबोध पो भएको हो कि भन्ने आकलन गर्न हम्मे थिएन । दबाई प्रयोगमा उदासीनता, निजी स्वास्थ्यमा पूर्णतः बेवास्ता अथबा बाँच्ने अभिलाषा नै मरेको हो कि भन्ने साङ्केतिक छनक - सर्वथा अप्रत्याशित थिए यी आम लक्षण । सबैभन्दा चुलिएका अनपेक्षित विषय थिए - अविश्वास, आशङ्का र अदृश्य भय । स्वाट्टै गिरेको थियो मनोबल । सघन उपचार कक्षमा उपचार गर्दा रोग छुमन्तर हुन्छ भन्ने भ्रान्तीले जरा गाडेको थियो उहाँको भयभीत मस्तिष्कमा । चिकित्सक वा परिचारिकाप्रतिको संशयले गाँजेको थियो मथिङ्गल । सरकारले सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्ने महामारी सङ्क्रमित र मृतकका आँकडाप्रति त रतीभर भरोसा नै थिएन र सरकारी कार्यशैलीप्रति चरम असन्तुष्टि थियो ।