२०८३ मंसिर १३ गते आइतवार
विराटनगर । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीलाई अन्य निजी अस्पतालमा लैजाने गिरोह सक्रिय रहेको बताएका छन् ।
‘एक–दुई दिनभित्रै विशेष अपरेसन चलाएर दोषीमाथि मानव बेचबिखनसम्बन्धी कानुनअनुसार कडा कारबाही गरिनेछ । यसका लागि तयारी भइरहेको छ,’ उनले भने । गृहमन्त्री गुरुङले बीपी प्रतिष्ठानमा लामो समयदेखि माग हुँदै आएको एमआरआई मेसिनका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिए । प्रतिष्ठानमा निर्माणाधीन नयाँ एमसीएच भवन सम्पन्न भएपछि धरानसहित पूर्वी क्षेत्रका नागरिकको स्वास्थ्य उपचारसम्बन्धी धेरै समस्या समाधान हुने उनको विश्वास छ ।
उनले बीपी प्रतिष्ठानको सुधारका लागि आफूले सात महिनासम्म आन्दोलन गरेको स्मरण गर्दै गृहमन्त्री बनेपछि पनि पटक–पटक प्रतिष्ठान पुग्ने गरेको बताए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले लागूऔषधविरुद्ध राष्ट्रिय गुरुयोजना तयार भइरहेको जानकारी दिए । उक्त गुरुयोजना कार्यान्वयनमा आएपछि काँकडभिट्टा, धरान, मधेसका जिल्लासहित देशभर लागूऔषधविरुद्ध ठूलो अपरेसन सञ्चालन गरिने उनले दाबी गरे ।
यसैगरी, उनले बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई न्याय दिलाउन र बचत फिर्ता गराउन गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको बताए ।
सहकारीका सञ्चालक पक्राउ परिसकेको उल्लेख गर्दै उनले बचतकर्ताको रकम कहाँ–कहाँ प्रयोग गरिएको छ र त्यसबाट जग्गाजमिन खरिद गरिएको छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij