२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । सांसद यज्ञमणि न्यौपानेले सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रास्वपा सांसद न्यौपानेले संविधानको धारा २१४ र २१६ ले स्थानीय तहको कार्यकारिणी संरचना तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुखको संवैधानिक हैसियत स्पष्ट परेको उल्लेख गरेका छन् ।
संविधानको उक्त व्यवस्था विपरीत हुने गरी बनाइएको राष्ट्रिय मर्यादाक्रमले महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रममा भेदभाव गरेको उल्लेख गरेका छन्। “प्रचलित राष्ट्रिय मर्यादाक्रममा महानगरपालिकाका प्रमुख तथा उपप्रमुखको हकमा भौगोलिक अवस्थिति, विशेषतः काठमाडौं महानगरपालिकाको राजधानीमा रहेको आधारमा असमान मर्यादाक्रम कायम गरिएको देखिन्छ,” न्यौपानले भनेका छन् ।
नेपाल राजपत्रमा प्रकाशित राष्ट्रिय मर्यादाक्रम अनुसार काठमाडौं महानगरपालिकाका प्रमुखलाई दशौँ मर्यादाक्रममा राखिएको छ भने काठमाडौं महानगरपालिकाबाहेकका अन्य महानगरपालिकाका प्रमुखलाई एघारौँ मर्यादाक्रममा राखिएको छ । काठमाडौं महानगरका उपप्रमुखलाई तेह्रौँ मर्यादाक्रममा राखिएकोमा अन्य महानगरका उपप्रमुखलाई सोह्रौँ मर्यादाक्रममा राखेर विभेद गरिएको उनको भनाइ छ ।
“उक्त व्यवस्थाको वस्तुगत औचित्य र संवैधानिक आधार पुनरावलोकन गर्नुपर्ने देखिन्छ, काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखहरू समान संवैधानिक तथा कानुनी व्यवस्थाअन्तर्गत निर्वाचित हुने पदाधिकारी हुन्,” उनले भनेका छन् ।
समान निर्वाचन प्रक्रिया, पदीय हैसियत, कार्यकाल, स्थानीय कार्यपालिकामा रहने भूमिका तथा जनताप्रतिको उत्तरदायित्व भए पनि काठमाडौं महानगरका प्रमुख वा उपप्रमुखलाई उच्च मर्यादाक्रममा राखिनु संवैधानिक वा कानुनी व्यवस्था नभएको उनको दाबी छ ।
“लोकतन्त्रमा जनप्रतिनिधिको मर्यादा उनीहरू निर्वाचित भएको भूगोलको आधारमा होइन, उनीहरूले प्राप्त गरेको जनादेश, संवैधानिक हैसियत र सार्वजनिक जिम्मेवारीका आधारमा निर्धारण हुनुपर्छ,” उनले भनेका छन्, “काठमाडौं महानगरपालिकाका नागरिकले दिएको जनादेश जति मूल्यवान छ, त्यति नै मूल्यवान जनादेश ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज महानगरपालिकाका नागरिकले दिएका छन् ।”
अहिलेको मर्यादाक्रमले राजधानीबाहिरका महानगरपालिकाका नागरिकको मत, सहभागिता र लोकतान्त्रिक अधिकारलाई औपचारिक मर्यादाक्रममा समेत तुलनात्मक रूपमा तल्लो स्थानमा राखेको उनको भनाइ छ । विद्यमान व्यवस्थाले समानताको संवैधानिक भावना र संघीयताको सहअस्तित्वमूलक मान्यतामाथि प्रश्न उठाएको जिकिर गर्दै मर्यादाक्रम समान बनाउन माग गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij