२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो ।
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ४ दिनको समय दिएको हो । सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको जानकारी दिएको थियो ।
मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ ।
सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ । उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ ।
प्रहरीले २०८३ मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij