२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी तथा वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।
यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्रालयले सरोकारवाला निकायसँग चरणबद्ध रूपमा छलफल गर्दै आएको थियो।
मन्त्रालयका अनुसार आवश्यक छलफल र गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।
प्रस्तावित संशोधनमा स्वास्थ्य बीमाको योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने विषयलाई प्राथमिकता दिइएको छ। साथै, आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, स्वास्थ्य सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने र अनावश्यक परीक्षण तथा अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि संशोधन प्रस्तावमा समेटिएका छन्।
मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने लक्ष्य रहेको बताइन्। आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij