Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

बेलायतमा स्तन क्यान्सर छिटो पत्ता लगाउने एआईको प्रभावकारिता परीक्षण हुँदै

बेलायतमा स्तन क्यान्सर छिटो पत्ता लगाउने एआईको प्रभावकारिता परीक्षण हुँदै

images

  • 22
    Shares

    बेलायतमा स्तन क्यान्सर छिटो पत्ता लगाउने एआईको प्रभावकारिता परीक्षण हुँदै
    images

    काठमाडौं । बेलायतमा करिब सात लाख महिलालाई सहभागी गराएर स्तन क्यान्सरको पहिचानमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारिता जाँच्ने विश्वकै सबैभन्दा ठूलो क्लिनिकल परीक्षण सुरु हुँदै छ ।

    परीक्षणको मुख्य उद्देश्य एआईले स्तन क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु रहेको बताइएको छ ।

    यसका साथै रोग पहिचानको क्षमता बढाउने, स्वास्थ्यकर्मीमाथिको कार्यभार घटाउने र अनावश्यक रूपमा क्यान्सर पहिचान हुने (ओभरडाइग्नोसिस) जोखिम कम गर्ने विषय पनि अध्ययन गरिनेछ ।

    ‘इदिथ’ नाम दिइएको यस परीक्षणमा महिलाहरूलाई सहभागी गराउने प्रक्रिया सुरु भइसकेको छ । क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल पहिलो परीक्षण केन्द्र बनेको छ भने बेलायतभरका ३० केन्द्रमा यो परीक्षण सञ्चालन हुनेछ ।

    बेलायतमा ५० देखि ७१ वर्ष उमेर समूहका महिलालाई प्रत्येक तीन वर्षमा स्तन क्यान्सरको नियमित परीक्षण (स्क्रिनिङ) का लागि बोलाइन्छ । हरेक वर्ष २० लाखभन्दा बढी महिला यसमा सहभागी हुन्छन् । हाल नेसनल हेल्थ सर्भिस (एनएचएस) का दुईजना विशेषज्ञले म्यामोग्राम (स्तनको एक्स–रे) परीक्षण गर्छन् । तर, यस परीक्षणमा तीमध्ये एक विशेषज्ञको स्थान एआईले लिनेछ ।

    यसअघि गरिएका साना अध्ययनले एआईको प्रयोगबाट स्तन क्यान्सर पहिचानको दर बढाउन सकिने देखाएका छन् । यद्यपि, एआईका कारण अनावश्यक थप परीक्षणका लागि महिलालाई बोलाउनुपर्ने अवस्था सिर्जना नहोस् र उनीहरूलाई हानि नपुगोस् भन्ने सुनिश्चित गर्नु पनि अनुसन्धानकर्ताहरूका लागि चुनौती बनेको बताइएको छ ।

    वारविक विश्वविद्यालयका जनस्वास्थ्य प्राध्यापक तथा परीक्षणका सहप्रमुख अनुसन्धानकर्ता सियान टेलर–फिलिप्सले एआईले प्रारम्भिक चरणमै क्यान्सर पहिचान गर्न सघाउन सक्ने बताउँदै अनावश्यक पहिचानको जोखिमप्रति सचेत रहनुपर्ने बताए ।

    उनले भने, “एआईको सहयोगले सुरुआती चरणमै क्यान्सर पत्ता लगाउने क्षमता राम्रो हुन सक्छ, तर हामी यस्तो रोगको आवश्यकताभन्दा बढी पहिचान गर्न चाहँदैनौँ, जसले कहिल्यै कुनै लक्षण नै पैदा गर्दैन ।”

    बेलायतमा महिलामा देखिने क्यान्सरमध्ये हरेक वर्ष स्तन क्यान्सरका करिब ५९ हजार नयाँ बिरामी थपिन्छन् । तीमध्ये झन्डै एकतिहाइमा नियमित म्यामोग्राम परीक्षणबाटै क्यान्सर पत्ता लाग्ने गर्छ । प्रायः प्रारम्भिक चरणमै रोग पहिचान हुने भएकाले उपचार सहज हुन्छ । यस स्क्रिनिङ कार्यक्रमले हरेक वर्ष करिब एक हजार तीन सय जनाको ज्यान बचाउने अनुमान छ ।

    क्याम्ब्रिज विश्वविद्यालयको रेडियोलोजी विभागकी प्राध्यापक, एडेनब्रुक अस्पतालकी सल्लाहकार तथा परीक्षणकी सहप्रमुख अनुसन्धानकर्ता फियोना गिल्बर्टका अनुसार हरेक वर्ष लाखौँ महिलाले म्यामोग्राम गराउँछन्, तर तीमध्ये एक प्रतिशतभन्दा कममा मात्र क्यान्सर पुष्टि हुन्छ ।

    उनले भनिन्, “प्रविधिको सहयोगले यी तस्बिरहरूको परीक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ । यसले स्तन क्यान्सर विशेषज्ञ रेडियोलोजिस्टहरूलाई बिरामीको हेरचाहमा बढी समय दिन मद्दत गर्नेछ । साथै, रोग छिटो पहिचान गरी उपचार सुरु गर्न पनि सहयोग पुग्नेछ ।”

    गिल्बर्टले बीबीसीसँग कुरा गर्दै रेडियोलोजिस्टहरूको ठूलो अभाव रहेको र इमेजिङ परीक्षणको संख्या हरेक वर्ष आठ प्रतिशतले बढिरहेको बताइन् ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १०:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij