२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा परिचयपत्रको फोटोकपीका आधारमा समेत स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई परिपत्र गरेको छ।
बुधबार बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा प्रदान गर्न निर्देशन दिएका हुन्।
बोर्डका अनुसार स्वास्थ्य सेवा लिन आउने बीमितले परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेमा त्यसमा उल्लेखित स्वास्थ्य बीमा नम्बर दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए/नभएको यकिन गरेर सेवा उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्र कुनै पनि बीमितलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवाबाट वञ्चित नगर्न बोर्डले अनुरोध गरेको छ।
यस व्यवस्थाले स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बीमितलाई समेत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij