२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । नेपालमा गत भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु गरिएको छ । भारतीय दूतावासले सूचीमा कुनै त्रुटि भए सच्याउन वा आपत्ति जनाउन पीडित परिवारलाई आगामी २ डिसेम्बरसम्म समय दिएको छ ।
भारतीय दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारले मृतक घोषणा गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
सूचीमा नाम थप्न, हटाउन वा विवरण सच्याउन परिवारका सदस्यले भारतीय दूतावासमा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि दूतावासले इमेल ठेगाना पनि उपलब्ध गराएको छ ।
परिवारबाट प्राप्त सुझाव, टिप्पणी तथा संशोधनको प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिनेछ र औपचारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाउनेछ । त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय निकायबाट उनीहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij