२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका ढकबहादुर नेपाली अझै अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्। आन्दोलनका क्रममा पोखराको गैह्रापाटनमा गोली लागेका उनी एक वर्षभन्दा लामो समयदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
घटनाको डेढ वर्षभन्दा बढी समय बितिसक्दा बल्ल केन्द्र सरकारको उच्चस्तरीय टोली उनको स्वास्थ्य अवस्था बुझ्न पोखरा पुगेको छ। बुधबार सरकारी टोलीले ढकबहादुर, उनका परिवारका सदस्य तथा उपचारमा संलग्न चिकित्सकसँग भेटघाट गरी थप उपचारबारे छलफल गरेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार टोलीले ढकबहादुरलाई थप उपचारका लागि भारत लैजान सकिने सम्भावनाबारे समेत चासो राखेको थियो। तर, उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरूले हालसम्म आवश्यक उपचार र शल्यक्रिया भइसकेकाले थप उपचारबाट उल्लेखनीय सुधार हुने सम्भावना न्यून रहेको बताएका छन्।
चिकित्सकहरूले स्वास्थ्य अवस्था केही सुधार भएपछि आवश्यक उपकरण र सुविधासहित घरमै उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्न सकिने सुझाव दिएका छन्। हाल भने भेन्टिलेटरमा रहेकाले तत्काल घर लैजान सकिने अवस्था नरहेको बताइएको छ।
भारतमा उपचार हुने आशामा परिवार
सरकारी टोली पोखरा आएपछि परिवारले ढकबहादुरलाई भारत लगेर थप उपचार गराउने आशा गरेको थियो। तर, चिकित्सकहरूले थप उपचारबाट उल्लेखनीय सुधार नहुने बताएपछि परिवार निराश बनेको छ।
ढकबहादुरकी माइजु राधा बयलकोटी नेपालीका अनुसार परिवार अझै पनि भारत वा अन्य देशमा उपचार सम्भव छ कि छैन भनेर बुझिरहेको छ। राज्यले उपलब्ध गराउन सक्ने सुविधासहित विशेषज्ञ चिकित्सकसँग थप परामर्श गर्न परिवारले आग्रह गरेको छ।
आन्दोलनका क्रममा उनको बायाँ छातीको छेउबाट गोली लागेको थियो। हेल्मेट लगाएका कारण ज्यान जोगिए पनि मेरुदण्डमा गम्भीर चोट लाग्दा घाँटीमुनिको भाग पूर्ण रूपमा चल्न छाडेको छ। उनलाई कुनै स्पर्शको अनुभूतिसमेत हुँदैन। यद्यपि, घाँटीमाथिको चेतना र होस भने पूर्ण रूपमा कायम रहेको परिवारले जनाएको छ।
आन्दोलनमा सहभागी भएकोमा पछुतो
शारीरिक रूपमा चल्न नसके पनि ढकबहादुरको चेतना पूर्ण रूपमा कायम छ। परिवारका सदस्यले मोबाइल चलाइदिँदा उनी हेर्ने र कुराकानी गर्ने गर्छन्। तर, आफ्नो अवस्था सम्झिँदै उनी दिनहुँ भावुक हुने गरेको माइजु राधाले बताइन्।
आन्दोलनमा सहभागी हुन गएकोमा पछुतो मान्दै आफू किन गएको होला भनेर बारम्बार गुनासो गर्ने गरेको उनले सुनाइन्।
ढकबहादुरलाई सुरुमा पोखरामै उपचार गरिएको थियो। पछि थप उपचारका लागि काठमाडौं लगिए पनि आफन्त र इष्टमित्र नहुँदा परिवारलाई कठिनाइ भएपछि करिब दुई महिनापछि पुनः पोखरा ल्याइएको थियो। घाइते भएको सात महिनापछि मात्रै उनले नागरिकता पाएका थिए।
सरकारले उपचार निःशुल्क भने पनि औषधि, कुरुवा र बिरामीको आवश्यकताका सामग्री जुटाउँदा ठूलो रकम खर्च भएको परिवारको गुनासो छ।
यसैबीच, बुधबारको छलफलमा आन्दोलनका घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउने र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको जेनजी क्लिनिकको सेवा थप व्यवस्थित गर्ने निर्णयसमेत भएको छ। छलफलमा संघीय सांसद, सरकारी अधिकारी, अस्पतालका पदाधिकारी तथा उपचारमा संलग्न चिकित्सकहरूको सहभागिता थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij