२०८३ मंसिर १० गते बिहिवार
मोरङ । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्।
गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो।
उनीविरुद्ध मंसिर १ गते अदालतबाट जबरजस्ती करणी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए। यसैगरी, सोही घटनालाई लिएर किशोरीका पतिले आफ्नी आमालाई समेत छेउमा राखी पीडित किशोरी (युवककी पत्नी)लाई सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
किशोरीमाथि भएको बलात्कार र श्रीमतीमाथि भएको कुटपिटको भिडियो विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएपछि प्रहरीले मंसिर बुधबार उनलाई पनि पक्राउ गरेको हो।
उनीमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसूर र बालविवाह सम्बन्धी कसूरसमेतमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गर्दै कारबाही प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij