२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये ८ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । रिफर गरिएकामध्ये १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ ।
यसैगरी, भरतपुर रिफर गरिएका अन्य घाइतेमा १६ वर्षीय रविन चौधरी र २० वर्षीय रिजन चौधरी २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरीको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये ५ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij