२०८३ मंसिर ८ गते मंगलवार
ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
नेपाल र तिब्बतको सीमा क्षेत्र भएर मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
‘ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको हो,’ अधिकारीले भने, ‘यो मध्यमस्तरको भूकम्प हो।’ भूकम्पले क्षति भए/नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस भएको छ। भौगोलिक रूपमा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ।
हिमालय क्षेत्र भएकाले यहाँ ससाना भूकम्प निरन्तर गइरहन्छन्। तर, पश्चिम नेपालमा लामो सयमदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम अझ धेरै रहेको भूकम्पविद्हरूले बताउने गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij