२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका ६७ परिवारलाई नगद राहत वितरण गरेको छ।
जनमोर्चाका उपाध्यक्ष एवं पूर्वसांसद दुर्गा पौडेल नेतृत्वको टोलीले गोसाइँकुण्ड गाउँपालिका–५ का सानो भार्खु र ठूलो भार्खु तथा वडा नम्बर ६ को धुन्चेका बाढीपीडित परिवारलाई राहत प्रदान गरेको हो।
राहत वितरणका क्रममा उपाध्यक्ष पौडेलले विपद्को दुःखद घडीमा पीडित परिवारलाई साथ दिन र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न आफूहरू आएको बताइन्। संकलित रकम सिधै पीडितको हातमा पुर्याउने उद्देश्यले सरकारी कोषमा जम्मा नगरी प्रत्यक्ष वितरण गरिएको उनको भनाइ थियो।
अन्य संघसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत सामग्री उपलब्ध गराइरहेको अवस्थामा तत्कालका आवश्यकता पूरा गर्न नगद राहत वितरण गरिएको जनमोर्चाले जनाएको छ।
जनमोर्चाका अनुसार देशभित्रका कार्यकर्ता तथा भारतस्थित प्रवासी संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट संकलित रकम पीडितलाई प्रदान गरिएको हो।
यसअघि पनि जनमोर्चाले रसुवाका विभिन्न बाढी प्रभावित बस्ती तथा काठमाडौंको नागार्जुनस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडित परिवारलाई राहत वितरण गरेको थियो। राहत वितरणमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसमेत सहभागी भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij