Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु

छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु


  • 211
    Shares

    • images
    छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरी कर्मचारीमाथि छानबिन सुरु

    काठमाडौं । छोरा हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई सई बताउँदै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि यस्तो आरोप लागेको हो ।

    घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्य तथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ ।

    सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए । सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत महतोले आफूलाई सई बताउँदै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ ।

    फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सङ्गठनभित्रै घटना आलोचित बनेको छ । सार्वजनिक अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि आफूलाई सई बताउने महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ । 

    महतोले सई भएको परिचय दिएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा महतोले गालीगलौज गरेको अडियोमा सुनिन्छ । छोरा सम्पर्कविहीन भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि फोन गरेका कर्मचारीमाथि नै दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ ।

    अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबिच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    अडियोमा सुनिएको संवाद प्रहरी आचरण विपरीत रहेको भन्दै घटनाको वास्तविकता र कसको लापरबाही रहेको हो भन्ने विषयमा सत्य तथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ । छानबिनबाट दोषी देखिएका प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरी यथाशीघ्र नतिजा प्रदेश प्रहरी कार्यालयमा जाहेर गर्नसमेत निर्देशन दिइएको छ ।

    यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए । घटनाबारे बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका थिए । डीएसपी शाहीका अनुसार महतोले गल्ती गरेको भए विभागीय कारबाही अघि बढाउनुपर्ने भए पनि हवल्दार यादवले अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि उठेको छ ।

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - ११:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij