२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई ऐतिहासिक तथा धार्मिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने तयारी गरेका छन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले सोमबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। बालेन्द्र
प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्ति उपहार दिने तयारी गरिएको छ। रातो मच्छिन्द्रनाथ नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण देवता हुन्।
परम्परागत किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवले भारतको तत्कालीन कामरूप क्षेत्रबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए। त्यसबेला उपत्यकामा लामो समयसम्म वर्षा नभएर अनिकाल परेको र मच्छिन्द्रनाथ नेपाल आएपछि वर्षा सुरु भएको धार्मिक विश्वास छ।
त्यस्तै, भारतीय राष्ट्रपति मुर्मूलाई काठमाडौंको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित मूर्ति उपहार दिने तयारी छ। चारुमती विहारको इतिहास मौर्य सम्राट अशोक र उनकी छोरी चारुमतीसँग जोडिएको छ।
परम्परागत कथनअनुसार सम्राट अशोक छोरी चारुमतीसहित काठमाडौं उपत्यका आएका थिए। चारुमतीले स्थानीय राजकुमार देवपालसँग विवाह गरी देवपाटन क्षेत्रमा बसोबास गरेको र त्यहीँ विहार निर्माण गराएको जनविश्वास छ।
यसअघि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेका थिए। यसपटक भने प्रधानमन्त्री शाहले फरक ऐतिहासिक र धार्मिक महत्त्व बोकेका सम्पदाका मूर्ति उपहार दिन लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यी उपहारले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई प्रतिबिम्बित गर्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij