२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘अक्वान’ थप सक्रिय बन्दै गएपछि भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बङ्गालका केही भागमा उच्च सतर्कता अपनाइएको छ ।
भोलि शुक्रबार जमिनमा ठोक्किने प्रक्षेपण गरिएको उक्त चक्रवातका कारण तीव्र गतिको हावाहुरी र अत्यधिक भारी वर्षा हुने अनुमानसँगै सम्बन्धित राज्य सरकारहरूले उद्धार टोली परिचालन, आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय तथा नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र पारेका छन् ।
एक महिनाभन्दा कम अवधिमा आन्ध्र प्रदेशमा आउन लागेको यो तेस्रो र ओडिशामा ठोक्किन लागेको दोस्रो चक्रवात हो । ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीका अनुसार राज्यभरबाट हालसम्म करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको छ । सरकारले मानवीय क्षति शून्यमा झार्ने लक्ष्य राखेको बताउँदै उनले जोखिमयुक्त तटीय, होचा तथा पहाडी क्षेत्रहरूमा व्यापक उद्धार अभियान सञ्चालन गरिएको जानकारी दिए ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी आन्ध्र प्रदेश, यानम र दक्षिणी ओडिशाका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीको बीचमा पर्ने तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
विभागले नोभेम्बर १९ देखि २१ तारिखसम्म राज्यका विभिन्न भागमा अत्यधिक भारी वर्षा हुनुका साथै दक्षिणी बङ्गालका कैयौँ जिल्लामा मेघगर्जनसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पूर्व र पश्चिम मेदिनीपुरमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना छ भने दक्षिण २४ परगना, हावडा, झारग्राम र बाँकुरामा भारी वर्षा हुने अनुमान गरिएको छ ।
यसैगरी, कोलकातामा नोभेम्बर १९ देखि २१ सम्म ३० देखि ४० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्नुका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । समुद्री सतह अशान्त रहने चेतावनी दिँदै मौसम कार्यालयले नोभेम्बर १९ र २० तारिखमा पश्चिम बङ्गालको तटीय तथा आसपासको समुद्री क्षेत्रमा नजान माझीहरूलाई आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij