२०८३ मंसिर ३ गते बिहिवार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप भएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरूलाई बुधबार राति पक्राउ गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित श्रम मन्त्रालयका कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्।
उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैरकानुनी रुपमा ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर तीन लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार ९०.८० गरी एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६.७६ रुपैयाँ अपचलन गरेको आरोप छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij