Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ

काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ


  • 239
    Shares

    • images
    काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ

    काठमाडौं । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले निगरानी बढाएका छन् ।

    शङ्कास्पद गतिविधि गरेको आरोपमा बितेका दुई दिनमा विभिन्न स्थानबाट ७६ जना विदेशी नागरिक पक्राउ परेका छन् । ‘निगरानी’लाई विशेष प्राथमिकता दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्लास्थित सुरक्षा निकायलाई चनाखो रही विशेष रूपमा जिल्लाका सबै स्थानका होटल तथा रिसोर्टमा अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार विशेषगरी पर्यटकीय क्षेत्रका होटल तथा रिसोर्टलाई अनुगमनमा प्राथमिकता दिइनेछ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्गलबार र बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल र पनौतीको बल्थलीका होटलमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा उक्त सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको हो ।

    मङ्गलबार जिल्लाको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पाँच महिलासहित ३६ चिनियाँ नागरिक र बुधबार पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका चिनियाँ तथा जापानी नागरिकको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल, ट्याबलेटलगायत डिजिटल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पाँचखाल–७ शिखरपुरबाट मङ्गलबार नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका ४९ कम्प्युटर (ल्यापटप) र १५५ थान मोबाइल जिल्ला प्रहरी कार्यालय हुँदै थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई बुधबार अध्यागमन विभागमा बुझाइएको छ ।

    थाङ्का बनाउने तथा पर्यटन र प्रविधिसम्बन्धी काम गर्ने भन्दै ती नागरिक तीन महिनादेखि उक्त रिसोर्टमा बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरूका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ ।

    यस्तै, बुधबार बिहान बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टमा प्रहरीले छापा मार्ने क्रममा रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको तथा टिकटकका करिब ३० देखि ३५ वटा बुथ, टेलिफोन, प्रहरी स्टेसन, अन्तर्वार्ता कक्षलगायत अस्थायी संरचना निर्माण गरिएको पाइएको प्रहरीले जनाएको छ ।

    बुधबार नियन्त्रणमा लिइएका ४० जापानी र चिनियाँ नागरिकलाई हिरासतमा राखिएको तथा उनीहरूका डिजिटल उपकरणबारे प्राविधिकमार्फत अनुसन्धान भइरहेको विष्टले बताए ।

    पछिल्ला केही महिनादेखि चिनियाँलगायत विदेशी नागरिकको बसोबास रहेको र उनीहरू बसेका होटल तथा रिसोर्टमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएपछि विदेशीले अवैध गतिविधि गरेको भन्दै गुनासा आएका थिए । त्यसपछि प्रशासन र प्रहरीले मङ्गलबार र बुधबार पाँचखाल तथा पनौतीका होटल र रिसोर्टमा छापा मारेको हो ।

    क्रमशः अन्य स्थानका होटल तथा रिसोर्टमा निरीक्षण र अनुगमनलाई निरन्तरता दिइने प्रजिअ अधिकारीले बताए ।

    उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाका धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायत क्षेत्रमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे संयन्त्रमार्फत थप सूचना सङ्कलन गर्ने क्रम जारी छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १६:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij