२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएको बताएको छ । उच्च स्रोतका अनुसार, उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनी भने फरार रहेका छन् ।
यो प्रकरणको कागजातबारे अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतले बतायो । यो ठगी प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।
यसअघि यो प्रकरणमा सीआईबीले चार जनालाई पक्राउ गरेको थियो । जसमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीमाथि अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ परेकाहरुविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।
श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij