२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्ज (आईएक्स) मा ५९४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति प्राप्त गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि अनुमति दिएको हो।
प्राधिकरणका अनुसार उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि सन् २०२७ जुन १४ सम्म आईएक्सको ‘डे–अहेड’ तथा ‘रियल टाइम’ मार्केटमा बिक्री गर्न सकिनेछ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मङ्सिर २ गते यससम्बन्धी स्वीकृति दिएको हो।
अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ। त्यस्तै, ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारतीय बजारमा बिक्री गरिने प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ। चालु वर्षका लागि उक्त सम्झौताअन्तर्गत विद्युत् निर्यात गर्ने अवधि गत अक्टोबर ३१ मा समाप्त भएको थियो।
मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाहरूको सूची भारतीय निकायमा पेस गरेको थियो। निरन्तरको पहलपछि ५९४ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो।
प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। यसबाहेक भारतका हरियाणा तथा बिहार र बङ्गलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij