२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महाधिवेशनले गरेको निर्णयलाई लिएर पटकपटक एउटै कुरा गरिरहे स्वीकार्य नहुने चेतावनी दिए।
उनले भने, ‘महाधिवेशनमा हामी थियौँ होइन र? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन? अनि बिचमा जहिले पनि त्यही एकतारे बजाएर र्याइँ–र्याइँ गरिरहने?’
पार्टीभित्रको आन्तरिक केही विषयमा चित्त नबुझेको कमिटीमा राख्न पाइने बताए।
उनले थपे, ‘कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौँ। कमिटीमा राख्दा कसैले कसैको मुख थुनेको छैन। कसैले आक्रमण गरेकाे पनि छैन, कसैले केही गरेको पनि छैन। नक्कली कुरा नगरौँ।’
पार्टीभित्र छलफलको विषय फेसबुकमा लेखेर विरोधीलाई मौका दिने गतिविधि स्वीकार्य नहुने बताए।
ओलीले भने, ‘हामीले अस्तिको केन्द्रीय कमिटीलाई कटअफ बैठक भनेका छौँ। त्यसभन्दा अगाडि जसले अनुशासनहीन काम गरेको भएता पनि, सामाजिक सञ्जालमा गएको भएता पनि, फेसबुक रङ्गाएको भएता पनि, अनुशासन तोडेको भएता पनि अस्तिको केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडिका कुराहरूलाई क्षमा गरिएको छ। अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन।’
आफूलाई पक्राउ गर्नुअघि पार्टीकै एक नेताले अन्तर्वार्तामा ओलीलाई पक्राउ गरेर एमाले सडकमा जाँदैन भनेर बोलेको भन्दै आक्रोश पोखे।
‘के भनेको त्यो एमाले हुँ भन्ने मान्छेले? आफू नउत्रिनु नि, उत्रिँदैन त्यो ठिकै छ। आफू नउत्रिनु नि! कार्यकर्ता नै उत्रिँदैनन् भन्ने, उत्रिए त देशैभरि’ उनले थपे, ‘ती व्यक्तिलाई केपी ओलीलाई गिरफ्तार गर्दै छ भन्ने थाहा छ? सरकार हच्किराखेको छ। सरकारलाई ढाडस दिने ? केही पनि हुँदैन, एक जना मान्छे पनि सडकमा उत्रिँदैन भनेको समात भनेको त हो नि।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij