२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका हुन् ।
ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उहाँले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताएका छन् । पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिएका छन् ।
भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गरेका छन् । परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिएका छन् । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उनले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij