Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला


  • 316
    Shares

    • images
    गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

    काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ । अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै बिहीबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो ।

    अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै जनमुखी, पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको जनाएको छ ।

    अभियानले स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा, बजेट विनियोजनमा देखिएका समस्या तथा सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा देखिएको विचलनले स्थानीय शासनको प्रभावकारितामा असर पारेको उल्लेख गरेको छ ।

    ज्ञापनपत्रमार्फत स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ । साथै, स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र निर्वाचन चिह्नको व्यवस्था गरी उम्मेदवारलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन माग गरिएको छ ।

    त्यस्तै, निर्वाचन प्रणाली सुधार, आधारसंहिता निर्माण, कानुन संशोधन तथा स्थानीय तहको निर्वाचनसम्बन्धी सर्वदलीय राजनीतिक सभा, परामर्श, छलफल र नीतिगत बहसमा स्वतन्त्र नागरिक अभियानको आधिकारिक तथा संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ ।

    अभियानले गैरदलीय स्थानीय तह निर्वाचनका लागि आवश्यक कानुनी तथा प्रशासनिक आधार तयार गरी आगामी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नसमेत आग्रह गरेको छ ।

    नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्थानीय स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वको आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय तहलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ ।

    निर्वाचन प्रणाली सुधार तथा स्थानीय तहको संरचनागत बहसमा नागरिक समाजको आवाजलाई संस्थागत रूपमा समेट्नुपर्ने मागसहित अभियानले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १२:३६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij