२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०/२२ वर्षीया अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भीमफेदी–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको थियो ।
दुर्घटनामा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् ।
घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij