२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन्। समूहका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने तथा समग्र समूहको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्ने जिम्मेवारी उनको हुनेछ।
त्यसैगरी, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारलाई पनि उनले प्राथमिकतामा राख्नेछन्।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनले अनुभव हासिल गरेका छन्।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप सबल बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको भूमिका महत्त्वपूर्ण हुने बताए।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता तथा सरोकारवालासँगको सहकार्यलाई प्रभावकारी बनाउँदै नतिजामुखी काममा आफ्नो ध्यान केन्द्रित रहने बताएको छ।
नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij