२०८३ कार्तिक २९ गते आइतवार
१. अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो
सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।
२. आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पार्नुभएको छ । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताउनुभएको हो । सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नियुक्ति गरेको थियो ।
३. काँग्रेसको १५ औँ महाधिवेशनले क्षति पु¥याएको खुलामञ्चको सुन्दरता फर्काउन दुबो रोपियो
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको छ । महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताउनुभएको हो । उहाँकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उहाँको भनाइ छ ।
४. चितवनमाथि कर्णाली याक्सको जित
हुसेन तलतको अलराउन्ड प्रदर्शन प्रेरित कर्णाली याक्सले जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको यात्रा टुङ्गाएको छ । कीर्तिपुरमा आईतवार भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि २४ रनको जित निकाल्दै यस सिजनको यात्रा पूरा गरेको हो । पाकिस्तानी अलराउन्डर हुसेन तलतको अलराउन्ड प्रदर्शनमा कर्णाली जित रच्यो । उनले अर्धशतकसँगै तीन विकेट पनि लिए । समान सात खेलबाट कर्णाली ६ अंक जोड्दै छैटौं स्थानमा रहेर सिजन पूरा ग¥यो । चितवन भने समान खेलबाट ७ अंकसहित इलिमिनेटरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बीचको विजेतासँग खेल्नेछ । आज दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
५. जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको छ । छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी हुनुभएको हो । यसअघि उहाँले छठ पर्वअन्तर्गत खरना विधिसमेत सम्पन्न गर्नुभएको थियो । चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चारदिने छठ महापर्वको मुख्य पूजा षष्ठी तिथिको साँझ सम्पन्न गरिएको हो ।
६. जनकपुरधाममा छठको उल्लास, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदैछन् । यसका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूलाई आकर्षक रूपमा सजाइएको छ। घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुहरूको चहलपहल बढेको छ । मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई श्रद्धा, आस्था र शुद्धताको पर्वका रूपमा मनाउने गरिन्छ । षष्ठी परमेश्वरीको पूजा गरिने यस पर्वमा परिवारको सुख, समृद्धि, स्वास्थ्य र समाजको उन्नतिको कामना गरिन्छ । धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन कर्ण र द्रौपदी तथा त्रेतायुगमा माता सीताको प्रसङ्गसँग समेत जोडेर व्याख्या गर्ने गरिएको छ । छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानता पनि हो ।
७. ठूला राष्ट्रसँग खेल्न नेपालले पिचमा सुधार गर्न आवश्यक छ– चितवनका सिकन्दर
चितवन राइनोजका कप्तान सिकन्दर राजाले विश्व क्रिकेटका ठूला राष्ट्रसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने पिचमा धेरै सुधार आवश्यक रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा कर्णाली याक्ससँग पराजित भएपछि जिम्बाब्वेका कप्तान समेत रहेका सिकन्दरले त्रिवि क्रिकेट मैदानमा पिच निकै खराब रहेको औंल्याएका हुन् । त्यसैले विश्वका ठूला राष्ट्रसँग खेल्न पिचको सुधार आवश्यक रहेको सिकन्दरले उल्लेख गरे । साथै यस्तै पिचमा आफ्नो करियर अगाडि बढेको भए ८ हजार रन पनि नपुग्ने भन्दै सिकन्दरले व्यङ्ग्य पनि गरेका छन् । विश्वका हरेक क्रिकेटका पिच राम्रो हुने उनले उल्लेख गरे । तब मात्र क्रिकेटको स्तर बढ्ने उनको भनाइ छ ।
८. नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उहाँले स्पष्ट पार्नुभएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले नेपालको परराष्ट्र नीतिमा रास्वपाले कुनै विचलन आउन नदिने बताउनु भयो । उहाँले रास्वपाले कुटनीति तथा विदेश नीतिका विषयमा पार्टीको छुट्टै दृष्टिकोणभन्दा पनि राज्यले अवलम्बन गरेको नीतिलाई नै आफ्नो नीति मान्दै आएको उल्लेख गर्नुभयो ।
९.प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन रहने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताउनुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा विचौलिया इनम सापकोटाको मोबाइल फोन भेटिएको विषय सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा प्रवक्ता खरेलले यो विषय सरकारकै क्षेत्राधिकारभित्र पर्ने बताउनुभएको हो । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा प्रधानमन्त्री स्वयंले आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
१०. राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । आईतवार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको हो । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ ।
११. रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताउनु भयो । उहाँकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि रास्वपाको प्रतिनिधिमण्डललाई चीन भ्रमणको निमन्त्रणा दिँदै आएको थियो ।
१३. सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुन पनि सम्झौता नगर्ने बताउनुभएको छ । सार्वजनिक भएका विभिन्न विवादित घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा आउनुपर्ने उहाँको भनाइ छ । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले रास्वपाको उदय नै सुशासनलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गरेर भएको बताउनु भयो । उहाँले पार्टीभित्र वा पार्टीभन्दा बाहिर जुनसुकै क्षेत्रमा सुशासनसँग सम्बन्धित प्रश्न उठे पनि रास्वपाले त्यसमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । आचार्यले राज्यका संस्थागत संरचना व्यक्तिभन्दा सधैँ माथि रहने मान्यतामा पार्टी विश्वास गर्ने पनि बताउनु भयो । कुनैपनि व्यक्ति वा पदभन्दा राज्यका संस्थाहरू महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सार्वजनिक भएका घटनामा कसैको दोष देखिए त्यसको निष्पक्ष निरुपण हुनुपर्ने धारणा राख्नुभयो ।
१४. एशिया–प्रशान्त क्षेत्र विश्वका लागि उदाहरणीय बन्नुपर्छः अस्ट्रेलियाली अर्थशास्त्री
अस्ट्रेलियाका प्रख्यात अर्थशास्त्री पिटर ड्राइस्डेलले एशिया–प्रशान्त क्षेत्र विश्वका अन्य भागका लागि उदाहरणीय र प्रेरणाको स्रोत बन्नुपर्ने बताएका छन् । उनले विश्व अर्थतन्त्रमा यस क्षेत्रको भूमिका निरन्तर बढ्दै गएको उल्लेख गर्दै आपसी सहकार्य, आर्थिक अन्तरनिर्भरता र खुलापनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलियाको क्यानबेरामा चिनियाँ समाचार संस्था सिन्ह्वासँग हालैको अन्तर्वार्तामा अस्ट्रेलियन नेसनल युनिभर्सिटीअन्तर्गत पूर्वी एसियाली आर्थिक अनुसन्धान ब्युरोका प्रमुख ड्राइस्डेलले एशिया–प्रशान्त समुदायको महत्व अहिले अझ बढेको बताए । उनकाअनुसार विश्व अर्थतन्त्रमा एशिया–प्रशान्त क्षेत्रको प्रभाव विस्तार हुनुमा चीनको आधुनिकीकरण र औद्योगिकीकरणले महत्वपूर्ण योगदान पु¥याएको छ ।
१५. केन्याको नैरोबीमा निर्माणाधीन भवन भत्किँदा ६ जनाको मृत्यु, पाँच घाइते
केन्याको राजधानी नैरोबीमा निर्माणाधीन भवन आंशिक रूपमा भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । शुक्रवार एसजीआर स्योकिमाउ पहुँच मार्गमा रहेको निर्माणाधीन भवन भत्किँदा पाँच जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार भवनको नवौँ तलामा ढलानको काम भइरहेका बेला संरचनाको केही भाग भत्किएको हो । कङ्क्रिट ढलानका क्रममा प्रयोग गरिएको फर्मवर्क अर्थात ढलानलाई अड्याउने अस्थायी संरचनामा समस्या आएपछि भवनको एक भाग खसेको प्रारम्भिक विवरणमा उल्लेख छ । दुर्घटनापछि उद्धारकर्मीले भग्नावशेषबाट शव निकाल्ने तथा पुरिएका व्यक्तिको खोजी गर्ने काम गरेका थिए । प्रारम्भिक उद्धारका क्रममा बिहान तीन जनाको शव निकालिएको थियो भने पछि थप तीन जनाको शव फेला परेको थियो । मृत्यु हुने सबै पुरुष र उनीहरू मध्यम उमेरका रहेको बताइएको छ । प्रत्यक्षदर्शी मारियन जेरीले आफू दैनिक काममा व्यस्त रहेका बेला ठूलो आवाज सुनेपछि घटनास्थलतर्फ गएको बताइन् ।
१६. कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो टुंग्याउन राष्ट्रसंघीय जलवायु प्रमुखको आग्रह
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् । टर्कीको तटीय शहर अन्टाल्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिलले जलवायु परिवर्तनका जटिल मुद्दामा सहमति जुटाउन सबै पक्षले लचकता र सम्झौताको भावना देखाउनुपर्ने बताएका हुन् । उनले वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु कठिन भएपनि सामूहिक उपलब्धिका लागि त्यो आवश्यक रहेको बताए । सबै पक्षबीच सम्झौता र सहकार्य हुन नसके साझा सफलता सम्भव नहुने उनको भनाइ छ ।
१७. कोप–३१ मा सहरी उत्थानशीलता र जलवायु लगानीलाई प्राथमिकता
जलवायु परिवर्तनका असरबाट शहर तथा समुदायलाई सुरक्षित राख्ने, ऊर्जा दक्ष भवन निर्माण गर्ने र जलवायु अनुकूलनमा लगानी बढाउने विषय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाइएको छ । टर्कीको तटीय शहर अन्टाल्यामा जारी सम्मेलनअन्तर्गत बिहीवार शहरी उत्थानशीलता, अनुकूलन तथा जलवायु कार्यसम्बन्धी उच्चस्तरीय संवाद आयोजना गरिएको थियो । टर्कीको कोप–३१ अध्यक्षता र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले संयुक्त रूपमा आयोजना गरेको उक्त संवादमा राष्ट्रिय जलवायु प्रतिवद्धता र अनुकूलन योजनालाई सहर तथा समुदायमा प्रत्यक्ष लगानीका रूपमा कार्यान्वयन गर्ने उपायबारे छलफल भएको थियो ।
१८. क्यालिफोर्नियामा अन्तरिक्षयानलाई प्रक्षेपणकै अवस्थामा प्रदर्शन, दर्शकका लागि खुला
अमेरिकाको क्यालिफोर्नियामा अन्तरिक्षयानलाई अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारिएको अवस्थामै प्रदर्शनमा राखिएको छ । विश्वकै पहिलो र एकमात्र वास्तविक अन्तरिक्षयानलाई प्रक्षेपणको पूर्ण संरचनासहित प्रदर्शनमा राखिएको यो दृश्य अन्तरिक्षप्रेमी तथा सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको छ । क्यालिफोर्निया साइन्स सेन्टरमा निर्माण गरिएको नयाँ ‘स्यामुएल ओस्चिन एयर एन्ड स्पेस सेन्टर’ शुक्रवारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। उक्त केन्द्रमा करिव २० तले भवनको उचाइ बराबर देखिने अन्तरिक्षयान ‘स्पेस सटल एन्डेभर’ लाई प्रक्षेपणका लागि तयार पारिएको अवस्थामै राखिएको छ । अन्तरिक्षयानसँगै यसको बाहिरी इन्धन ट्याङ्की र दुईवटा ठोस इन्धनबाट चल्ने रकेट बुस्टरसमेत जोडेर प्रदर्शन गरिएको छ ।
१९. गाजामा औषधिको चरम अभाव, उपचारका लागि जडीबुटीको सहारा लिँदै स्थानीय
गाजामा औषधिको चरम अभाव भएपछि स्थानीय बासिन्दा उपचारका लागि जडीबुटी तथा प्राकृतिक औषधिको सहारा लिन बाध्य भएका छन् । जारी द्वन्द्वका कारण स्वास्थ्य सेवा र आपत्कालीन उपचार प्रणाली प्रभावित हुँदै जाँदा सर्वसाधारणले सामान्य रोगको उपचारसमेत सहज रूपमा पाउन सकेका छैनन् । औषधि अभावका कारण गाजाका स्थानीय बासिन्दा परम्परागत उपचार पद्धतितर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी पेटसम्बन्धी समस्या, टाउको दुख्ने, रुघाखोकी, ज्वरो तथा अन्य सामान्य स्वास्थ्य समस्याको उपचारका लागि जडीबुटी प्रयोग गर्ने क्रम बढेको छ ।
२०. चीनको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानको पहिलो मानवसहित सफल उडान
चीनले स्वदेशमै विकास गरेको १० टन वर्गको विद्युतीय व्यावसायिक विमानले पहिलोपटक मानवसहितको सफल परीक्षण उडान गरेको छ । शनिवार चीनको पूर्वी शान्दोङ प्रान्तस्थित बिन्झाउमा ‘सीई–२५ए’ नामक उक्त विमानले पहिलो मानवसहितको बौद्धिक परीक्षण उडान पूरा गरेको हो । चीनको व्यावसायिक विमान निर्माण कम्पनी (कोम्याक) ले विकास गरेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । परीक्षण उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार रहेको जनाइएको छ । सीई–२५ए विमानले एकपटकमा १९ जनासम्म यात्रु बोक्न सक्ने क्षमता राख्छ। यसको उडान गति प्रतिघण्टा ३०० किलोमिटर रहेको छ भने एकपटकमा करिव ४०० किलोमिटरसम्म दूरी पार गर्नसक्छ ।
२१. चीनको मानवरूपी रोबोटले कठिन भूभागमा सहजै हिँडेर देखायो आफ्नो क्षमता
चीनमा विकसित मानवरूपी रोबोटले जटिल तथा कठिन भूभागमा स्वचालित रूपमा हिँड्न सक्ने क्षमता प्रदर्शन गरेको छ । चीनमा निर्मित ‘एजीबोट ए३ अल्ट्रा’ नामक उक्त रोबोटले सिँढी चढ्ने, साँघुरो ठाउँबाट शरीरलाई छड्के पारेर निस्कने तथा बाटोमा आउने विभिन्न अवरोध पार गर्ने क्षमता देखाएको हो । रोबोटले तीन आयामिक (थ्रीडी) वातावरणमा रहेका जटिल अवरोध पहिचान गर्दै आफ्नो गति र चाललाई वास्तविक समयमै समायोजन गर्न सक्छ । यसले कुनै मानवीय निर्देशनबिना नै वरपरको वातावरणको मूल्याङ्कन गरी सुरक्षित रूपमा अगाडि बढ्न सक्ने क्षमता राख्छ । प्रदर्शनका क्रममा रोबोटले अग्ला सिँढी चढ्नुका साथै साँघुरा खाली ठाउँबाट शरीरलाई आवश्यकताअनुसार मोडेर पार गरेको थियो ।
२२. जलवायु वित्त बढाउन विकसित देशलाई राष्ट्रसंघ प्रमुख गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर न्युनिककरण तथा त्यसबाट प्रभावित देशलाई सहयोग गर्न विकसित राष्ट्रहरूले जलवायु वित्त बढाउनुपर्ने बताएका छन् । शुक्रवार टर्कीको तटीय शहर अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले विश्वव्यापी जलवायु वित्त प्रणालीमा संरचनागत अन्याय रहेको उल्लेख गरे । जलवायु परिवर्तनको जोखिममा रहेका विकासशील राष्ट्रहरूले आवश्यकताअनुसार आर्थिक सहयोग प्राप्त गर्न नसकेको उनको भनाइ छ । गुटेरेसले विशेषगरी जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विकासशील देशलाई अनुकूलनका कार्यक्रम सञ्चालन गर्न तथा जलवायुजन्य क्षति र नोक्सानीको सामना गर्न ठूलो आर्थिक सहयोग आवश्यक रहेको बताए ।
२३. फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि प्रदर्शन, लियोनमा झडप हुँदा अश्रुग्यास प्रहार
फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि सरकार तथा विभिन्न सामाजिक मुद्दाविरुद्ध प्रदर्शन भएको छ । शनिवार देशका विभिन्न शहरमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा फ्रान्सको तेस्रो ठूलो शहर लियोनमा भने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । लियोनमा बालबालिकाको अधिकार, जलवायु परिवर्तन नियन्त्रण तथा सामाजिक न्यायको माग गर्दै निकालिएको ¥याली सुरुमा शान्तिपूर्ण देखिए पनि केही समयमै तनावपूर्ण बनेको थियो । बाजागाजासहित शुरु भएको ¥यालीमा बालबालिका र परिवारका सदस्यहरूको समेत सहभागिता थियो । तर प्रदर्शन शुरु भएको केही मिनेटमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । रोन विभागको प्रशासनिक निकायकाअनुसार लियोनमा करिब आठ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए ।
२४. भारतको आसाममा मिनिबस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य आसाममा मिनिबस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । शुक्रवार भएको उक्त दुर्घटनामा परी अन्य धेरै यात्रु घाइते भएका छन् । आसामको गोलाघाट जिल्लास्थित काजिरंगानजिकै रोङ्गाजन क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । उक्त स्थान आसामको राजधानी दिसपुरबाट करिब २७४ किलोमिटर उत्तरपूर्वमा पर्छ । प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा कलेजका विद्यार्थीहरूसमेत रहेका छन् । विपरित दिशाबाट आइरहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिबस पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । ठक्करको प्रभावले बसको अगाडिको भाग नराम्ररी कुच्चिएको र केही यात्रु भित्रै फसेका थिए ।
२५. कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे
कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । तथ्यांकअनुसार व्यवसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ ।
२६. पाँच वर्षमा हेरचाह र घरेलु कामबाटै डेढ लाख रोजगारी सिर्जना गरिने
सरकारले आगामी पाँच वर्षमा हेरचाह र घरेलु कामबाटै डेढ लाख रोजगारी सिर्जना गर्ने भएको छ ।
हेरचाह तथा घरेलु कामलाई सरकारले रोजगारीको नयाँ क्षेत्रका रूपमा विकास गर्दै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीको हेरचाहदेखि घरायसी कामसम्मलाई औपचारिक श्रम बजारमा जोड्दै आगामी पाँच वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने योजना बनाएको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले हेरचाह अर्थतन्त्र (केयर इकोनोमी) र घरेलु कार्यलाई सुरक्षित, मर्यादित र सामाजिक सुरक्षासहितको रोजगारीका रूपमा विकास गर्न राष्ट्रिय हेरचाह अर्थतन्त्र तथा घरेलु कार्य रोजगार कार्यक्रम (एनसीडीईपी) अघि बढाएको छ ।
२७. नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपुर्ण रहेको बताउनुभएको छ । आईतवार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले चीनको सहयोगमा स्थापित भरतपुरस्थित वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतिक बनेको उल्लेख गर्नुभयो । चीनको सहयोगमा स्थापना भएको उक्त अस्पतालले नेपालमा क्यान्सर उपचार, बोन म्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनु भयो ।
२८. बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव पार्दैनः मौसमविद् ढकाल
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताउनुभएको छ । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताउनुभएको हो । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उहाँको भनाई छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij