२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । घरेलु हतियार खुकुरी प्रदर्शन गर्दै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका निमित्त प्रवक्ता नरेश लिम्बुका अनुसार अन्सारीले खुकुरी प्रदर्शन गर्दै अश्लील भाषायुक्त अभिव्यक्ति तथा समाजमा आतंक र डरत्रास फैलाउने किसिमको भिडियो बनाएर टिकटकमा पोस्ट गरेका थिए।
सामाजिक शान्ति भंग गर्ने तथा समाजमा डरत्रास फैलाउने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, सामाजिक सञ्जालमा अश्लील, डरत्रास फैलाउने, हतियार प्रदर्शन गरी धाकधम्की तथा रंगदारी झल्किने सामग्री पोस्ट गर्ने अन्य व्यक्ति तथा समूहसमेत प्रहरीको निगरानीमा रहेको जनाइएको छ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij