२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा आइतबार आंशिक बादल लागेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, दिउँसो देशको हिमाली भू–भाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केही स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको विभागले पूर्वानुमान गरेकाे छ ।
राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
देशका हिमाली भू–भाग तथा कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij