२०८३ कार्तिक २८ गते शनिवार
१. सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछः देउवा
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । शनिवार ललितपुरमा आफू पक्षीय नेपाली काँग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनैपनि प्रलोभनमा बिक्ने संस्था नभएको बताउनुभएको हो । उहाँले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गर्नुभयो । देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसङ्ग पनि सुनाउनु भयो ।
२. विश्वप्रकाश शर्माबारे जितजंग बस्नेत–‘तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ’
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्पठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गर्नुभएको छ । शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको हो । शर्माले आफू मन्त्रीसमेत नभएको बताउनुभएको प्रसंग उल्लेख गर्दै बस्नेतले शर्माको एनजिओसँगको आवद्धताबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनु भयो । बस्नेतले काँग्रेस सभापति गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएका विषयसमेत उठान गर्नुभयो । उहाँले पार्टीभित्र आर्थिक चलखेल र विचौलियाको प्रभाव बढेको आरोप लगाउँदै व्यवसायीको आडमा काँग्रेस कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनु भयो ।
३. महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा
जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले शनिवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै यस निर्णयले मिथिला संस्कृतिको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउन महत्वपूर्ण भुमिका खेल्नेहरु प्रधानमन्त्री बालेन्द्र साहसहित अन्य मन्त्रीप्रति आभार प्रकट गर्नुभयो ।
४. मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताउनुभएको छ । शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताउनुभएको हो । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले काँग्रेस धेरै शहीदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गर्दै शहीदको रगतले भिजेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने जिकिर गर्नुभयो । देउवाले आफूलाई अब केही बन्नु नरहेको भन्दै पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्नु नै आफ्नो कर्तव्य भएको बताउनु भयो ।
५. मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गर्नुभएको छ । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताउनुभएको हो । उहाँले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको बताउनु भयो । जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उहाँको चेतावनी छ ।
६. मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उहाँले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताउनु भयो । सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीसमेत सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो । १०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो।
७. जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाउनुभएको छ । शनिवार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोईरालाको पुख्र्यौली घरसमेत जलाइएको बताउनु भयो । आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उहाँको भनाइ छ । उहाँले यसलाई षड्यन्त्रको संज्ञा दिनुभयो ।
८. जलवायु सङ्कट र एल निनोः सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम
जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने सङ्केत देखिएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) र अमेरिकी राष्ट्रिय समुन्द्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का पछिल्ला पूर्वानुमानले एल निनो आगामी वर्षको सुरुसम्म शक्तिशाली अवस्थामा रहने सम्भावना देखाएका छन् । यसको प्रभावले विश्वव्यापी औसत तापक्रम थप बढ्न सक्ने र विभिन्न क्षेत्रमा खडेरी, वन डढेलो, अत्यधिक वर्षा, बाढी तथा खाद्य असुरक्षाको जोखिम फरक–फरक रूपमा देखिन सक्ने वैज्ञानिकहरूको आकलन छ ।
९.जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी व्यक्त गर्नुभएको छ । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले खुशी व्यक्त गर्नुभएको हो । उहाँले जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्रै नभई विश्वभर हुने गरेको उल्लेख गर्दै यस्तो पवित्र र उत्सवमय अवसरमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो । लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिकतामा विश्वास गर्ने भएकाले विभिन्न मठमन्दिरमा जाने र धार्मिक आस्थाअनुसारका गतिविधिमा सहभागी हुने गरेको पनि बताउनु भयो ।
१०. छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन् । यस वर्ष छठका लागि आवश्यक केरा भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन् । जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवकाअनुसार यसपटक भारतबाट एउटा पनि केरा आएको छैन । नेपालकै विभिन्न जिल्लामा उत्पादन भएको केराले बजारको माग पूरा गरिरहेको छ ।
११. काठमाडौं उपत्यकामा छठको तयारी अन्तिम चरणमा, कमलपोखरीदेखि गौरीघाटसम्म घाट सजाइयो
काठमाडौं उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशय क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनका काम तिब्र पारिएको छ । काठमाडौंको कमलपोखरी, थापाथली, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन आवश्यक तयारी भइरहेको छ । ती स्थानमा व्रतालु तथा श्रद्धालुहरूलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण बनाउन घाट व्यवस्थापन, सरसफाई र सजावटका कामलाई प्राथमिकता दिइएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेकाले नदी, पोखरी तथा जलाशयका किनारमा विशेष तयारी गरिन्छ ।
१२. एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गर्नुभएको छ । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान गरेको बताउनु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको अवधारणाअनुसार तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन भएको र नेपाललाई लोडसेडिङमुक्त बनाइएको दाबी गर्नुभयो । उक्त कामको जस तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाउनुपर्ने भएपनि यसको मुख्य अवधारणा ओली नेतृत्वको सरकारको रहेको उहाँको भनाइ छ ।
१३. इभोरी कोस्टमा दोस्रो ‘आइभोरी टेक फोरम २०२६’ आयोजना
आइभोरी कोस्टको राजधानी आबिदजानमा दोस्रो संस्करणको ‘आइभोरी टेक फोरम २०२६’ शुरु भएको छ । बुधवारदेखि शुरु भएको तीनदिने फोरममा डिजिटल रूपान्तरण र उदाउँदा प्रविधिको प्रयोगमार्फत आर्थिक विकास तथा रोजगारी सिर्जना गर्ने विषयमा छलफल भइरहेको छ । ‘रूपान्तरणका लागि नवप्रवर्तन ः उदाउँदा प्रविधिमार्फत आर्थिक वृद्धिलाई तीव्रता’ भन्ने नाराका साथ आयोजित फोरममा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिको सम्भावना र तिनको व्यावहारिक प्रयोगबारे विमर्श भइरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आइभोरी कोस्टका प्रधानमन्त्री रोबर्ट बेउग्रे माम्बेले सरकारले एआई तथा अन्य उदाउँदा प्रविधिको प्रयोगलाई प्रमुख आर्थिक क्षेत्रमा विस्तार गर्ने योजना बनाएको बताए ।
१४. एआई र युक्रेन युद्धबारे छलफल गर्न डब्लिनमा भेला भए ईयूका नेताहरू
युरोपेली संघ (ईयू) का नेताहरू कृत्रिम बुद्धिमत्ता (एआई), आर्थिक प्रतिस्पर्धात्मकता र युक्रेन युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासबारे छलफल गर्न आयरल्याण्डको राजधानी डब्लिनमा भेला भएका छन् । शुक्रवार डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित अनौपचारिक शिखर सम्मेलनमा ईयूका २७ सदस्य राष्ट्रका नेताहरू सहभागी भएका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाको अध्यक्षतामा तथा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा सम्मेलन आयोजना गरिएको हो । युरोपेली परिषद्काअनुसार सम्मेलनमा पहिलोपटक ईयूका नेताहरूले विशेष रूपमा एआईसम्बन्धी रणनीतिक छलफल गर्दैछन् । युरोपको प्रविधिगत प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने, अन्य मुलुकमाथिको प्राविधिक निर्भरता घटाउने र आफ्नै एआई प्रविधि विकास गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
१५. औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित अफगानिस्तानमा स्वास्थ्य प्रदर्शनी
अफगानिस्तानले औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित स्वदेशी औषधि उद्योगको विस्तारलाई प्राथमिकता दिएको छ । यसैक्रममा राजधानी काबुलमा बुधवारदेखि दोस्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य प्रदर्शनी शुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा अफगानिस्तानका औषधि उत्पादक कम्पनी, अस्पताल तथा विदेशी कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा स्वदेशमै उत्पादित औषधि, स्वास्थ्य परीक्षणसम्बन्धी प्रविधि तथा चिकित्सा उपकरणहरू प्रदर्शन गरिएको छ । स्वदेशी औषधिको गुणस्तरप्रति उपभोक्ता, स्वास्थ्यकर्मी र बिरामीको विश्वास बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा उत्पादकहरूले आफ्ना उत्पादन तथा उत्पादन प्रक्रियाबारे जानकारी दिँदै स्थानीय औषधि उद्योगको क्षमता प्रश्तुत गरिरहेका छन् ।
१६. दोस्रो विश्वयुद्धमा हराएका अमेरिकी सैनिकको अवशेष हिमनदीबाट खोजेर स्वदेश फर्काइँदै
दोस्रो विश्वयुद्धका क्रममा चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग गर्ने क्रममा हराएका अमेरिकी वायुसेनाका सैनिकको अवशेष चीनले खोजेर अमेरिकालाई हस्तान्तरण गरेको छ । यसैक्रममा मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा चिनियाँ र अमेरिकी सेनाबीच आयोजित समारोहमा सैनिकका अवशेष हस्तान्तरण गरिएको हो । दोस्रो विश्वयुद्धका क्रममा ‘हम्प रुट’ क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैनिकको हुन सक्ने अनुमान गरिएका अवशेष समुन्द्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको हिमनदीबाट फेला पारिएको हो । चीनको सिचुआनस्थित निजी सङ्ग्रहालय चियानछ्वान सङ्ग्रहालयले गठन गरेको खोजी टोलीले दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत न्यिङ्छीका हिमनदीमा खोजी अभियान सञ्चालन गरेको थियो। टोलीले जोखिमपूर्ण हिमाली क्षेत्र, घना जङ्गल र तीव्र गतिमा बग्ने नदी पार गर्दै सैनिकका अवशेष खोजेको थियो ।
१८. पाकिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा शिशुसहित ११ जनाको मृत्यु
पाकिस्तानको उत्तरी क्षेत्र गिलगिट–बाल्टिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा शिशुसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीकाअनुसार बिहीबार साँझ गिलगिटबाट घिजर जिल्लातर्फ जाँदै गरेको भ्यान चालकले नियन्त्रण गुमाउँदा नदीमा खसेको थियो । दुर्घटनापछि उद्धार टोलीले दुई महिलासहित ११ जनाको शव नदीबाट निकालेको प्रहरीले जनाएको छ । उद्धार गरिएका दुई घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
१९. पाकिस्तानमा सुरक्षा कारबाहीमा ४३ लडाकु मारिएको सेनाको दाबी
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न कारबाहीमा कम्तीमा ४३ जना लडाकु मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाकाअनुसार पछिल्लो ४८ घण्टामा मिर अली र ओरकजाई जिल्लामा गुप्तचर सूचनाका आधारमा विशेष सुरक्षा कारबाही सञ्चालन गरिएको थियो । पाकिस्तानी सेनाको सञ्चार विभाग इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार मिर अलीमा प्रतिबन्धित संगठन तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ३५ जना लडाकु मारिएका छन् । यस्तै, ओरकजाईमा भएको भीषण गोली हानाहानमा थप आठ जना मारिएको सेनाको दाबी छ ।
२०. ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते, संदिग्ध बन्दुकधारी पनि मृत फेला
अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकको एक व्यायामशालामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनाका संदिग्ध बन्दुकधारी पनि पछि मृत फेला परेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ह्वाइट हाउसबाट करिव १.६ किलोमिटर उत्तरमा रहेको व्यायामशालामा गोली चलेको थियो । घटनापछि संदिग्ध व्यक्ति नजिकैको एक अपार्टमेन्ट भवनभित्र आफूलाई थुनेर बसेका थिए । प्रहरीले उनीसँग टेलिफोनमार्फत सम्पर्क गरिरहेको एनबीसी न्युजले जनाएको छ । पछि प्रहरीले उनलाई आफैँले गोली चलाएको आशंका गरिएको अवस्थामा मृत फेला पारेको थियो । अपार्टमेन्ट भवनसँग सम्बन्धित कुनै विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको समाचारमा उल्लेख छ ।
२१. आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताउनुभएको हो । उहाँले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उहाँले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताउनु भयो ।
२२. एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उहाँले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताउनु भयो । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उहाँले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उहाँले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाउनु भयो । उहाँले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताउनु भयो ।
२३. पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित भएको छः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टीप्पणी गर्नुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उहाँले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरि दुई भागमा विभाजित भएको बताउनुभएको हो । उहाँले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताउनु भयो । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उहाँको भनाई छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उहाँले बताउनु भयो । उहाँले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाउनु भयो । आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उहाँको दाबी थियो । उहाँले प्रहरी संगठनको सेवा, सुविधा, पोशाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताउनु भयो ।
२४. वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्नुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उहाँले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताउनु भयो । उहाँले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उहाँको भनाई छ । उहाँले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताउनु भयो । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पु¥याउन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उहाँको आरोप छ ।
२५. विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर
नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो । त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी स्क्रिनिङ, खुट्टाको स्नायु परीक्षण (डायबेटिक न्युरोप्याथी) पनि गरिएको समाजले जनाएको छ ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij