२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले संघीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूको अडानका कारण १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकका आफन्तले प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्।
यसअघि एक परिवारले शव बुझिसकेको छ। जिल्ला प्रशासन, प्रहरी र जनप्रतिनिधिको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन भएपछि आज पुनः छलफल गर्ने तयारी छ। छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij