Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

होस्टेलमा कुकुरलाई बिहान दूधभात, बेलुका ‘चिकनभात’

होस्टेलमा कुकुरलाई बिहान दूधभात, बेलुका ‘चिकनभात’


  • 211
    Shares

    • images
    होस्टेलमा कुकुरलाई बिहान दूधभात, बेलुका ‘चिकनभात’

    काठमाडौं । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् ।

    बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ ।

    नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।

    नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन् ।

    होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो ।

    सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताए । उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

    मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताए । सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ ।

    सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ ।

    होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १०:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij