२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दीपावली, नेपाल संवत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।
आइतबार चाडपर्वलक्षित भिडियो सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन्। उनले अहिले देशमा छद्मभेषी माहोल रहेको बताएका छन्।
उनले भने, ‘सत्य दबेको छ र असत्य हाबी छ। भ्रष्टहरूले सुशासनको मुकुण्डो लगाएका छन्, दलालहरू राष्ट्रियताको पाठ पढाइरहेका छन् र विध्वंस मच्चाउनेहरू विकासका कुरा गरिरहेका छन्। यस्तो भ्रमपूर्ण अवस्थामा यी महान् पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरून्। देश सुख, शान्ति र समृद्धिको मार्गमा अग्रसर होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईं सबैको मनोकामना पूरा होस्। पुनः मंगलमय शुभकामना। धन्यवाद !’
अध्यक्ष साहले दीपावली आफैँमा उज्यालोको पर्व भएकाले सबै नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्दै सिंगो देश उज्यालोको बाटोमा अगाडि बढिरहोस् भन्ने कामना गरेका छन्।
यस्तै, उनले नेपाल संवत्लाई मानवता र परोपकारको गौरवशाली इतिहास बोकेको पर्वका रूपमा उल्लेख गर्दै यस पर्वले पूरै विश्वलाई सधैँ मानव कल्याणको बाटो देखाइरहोस् भन्ने शुभेच्छासहित यसका प्रणेता शङ्खधर साख्वाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij