२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले आफ्नै पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् ।
आफ्नै पत्नीको हत्या मुद्दामा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेकोदेखि शव काटेर टुक्र्याएको र फोहोरमा फालेकोसम्मका घटनाबारे अदालतमा खुलासा गरेका हुन् ।
उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि बताए । सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गरेको उनको भनाइ थियो । उनले ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेकोसमेत बताए ।
शव भेटिएको दिनको घटनाबारे भट्टको बयान
भट्टका अनुसार उनी जुलाई २९, २०२४ को राति करिब ८ बजे सुत्न गएका थिए । ममता भने भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन् ।
भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका उनले पछि मास्टर बाथरुममा जान खोज्दा असामान्य गन्ध महसुस गरे । त्यसपछि पत्नीलाई खोज्दा बेडरूमको खाटनजिक भुइँमा अचेत अवस्थामा भेटेको उनले बताए ।
ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यसमा चक्की, रगत, क्याप्सुल र खानाका कण रहेको भट्टले बयान दिए । उनले त्यहाँ ‘सेल्फोस’ नामक कृषि विषादीसमेत देखेको दाबी गरे ।
ममतालाई अचेत अवस्थामा भेटेपछि आफूले सीपीआर दिने प्रयास गरेको तर प्रहरी वा आपत्कालीन सेवामा तत्काल खबर नगरेको उनले बताए । पत्नीको मृत्युलाई लिएर आफूलाई दोषी ठहर गरिने डरले आत्तिएको उनको भनाइ थियो ।
शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार
भट्टले ममताको शव फोहोरको डस्टबिनमा अटाउन खोजेको र त्यसका लागि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको स्वीकार गरे ।
उनले शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको तर मानसिक र शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बताए ।
अदालतमा अभियोजन पक्षले प्रस्तुत गरेको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरासमेत आफूले प्रयोग गरेको भट्टले स्वीकार गरे ।
उनका अनुसार उनले घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर आफ्नो गाडीमा राखेका थिए र पछि फल्स चर्चमा फालेका थिए । त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताए । शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको उनको अनुमान छ ।
शवका टुक्रा अन्यत्र नभई घरको ग्यारेजमा रहेको फोहोरमै फालेको उनले बताए ।
अभियोजन पक्षका वकिलले शव टुक्राटुक्रा पारेर फेला नपरोस् भनेर फोहोरमा राखेको हो भन्दै प्रश्न गर्दा भट्टले ‘हो’ भनेर स्वीकार गरेका थिए ।
शव लुकाउन सामान खोजेको बयान
भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामान खोज्दै होम डिपो र वालमार्ट गएको पनि बताए । होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए ।
त्यस्तै, ममताको शव काट्न प्रयोग गरिएको चक्कु र अन्य सामग्रीबारे पनि अभियोजन पक्षले प्रश्न गरेको थियो । भट्टले केही चक्कु प्रयोग गरेको स्वीकार गरे ।
उनले ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि अदालतमा बताए ।
गुगल सर्च र घरेलु हिंसाबारे प्रश्न
अदालतमा भट्टको गुगल सर्च हिस्ट्रीबारे पनि प्रश्न उठाइएको थियो । उनले अगस्ट ५ मा भर्जिनियामा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे खोजी गरेको हुन सक्ने स्वीकार गरे ।
त्यस्तै, अगस्ट १७ मा ‘के म आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषयमा खोजी गरेकोबारे उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको बताए ।
अभियोजन पक्षले ‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीबारे पनि प्रश्न गरेको थियो । भट्टले केही खोजी गरेको सम्झना भए पनि सबैको कारण याद नभएको बताए । उनले आफूले अनुसन्धान अवधिमा कम्तीमा १४ हजार गुगल सर्च गरेको अनुमान सुनाए ।
अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिर पनि अदालतमा प्रस्तुत गरेको थियो । उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम र हात तथा नाकमा रगत देखिएको थियो । उनले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन् । त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए ।
तर भट्टले उक्त घटनामा आफू जिम्मेवार नभएको र ममतामाथि कहिल्यै हात नउठाएको दाबी गरे ।
अभियोजन पक्षको कडा जिरह
बिहीबार दिउँसो प्रतिरक्षा पक्षको प्रश्नोत्तर सकिएपछि अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि कडा जिरह गरेका थिए ।
‘तपाईं झुटो बोल्ने व्यक्ति हुनुहुन्छ,’ स्वीटले भनेपछि अदालतमा केहीबेर ताली बजेको थियो । त्यसपछि न्यायाधीश किम्बर्ली इर्भिङले अदालतमा शान्ति कायम गर्न निर्देशन दिएकी थिइन् ।
स्वीटले भट्टले प्रहरीलाई पत्नी कहाँ छिन् भन्ने थाहा नभएको बताउँदै लामो समयसम्म झुटो बोलेको आरोप लगाए ।
उनले ममताप्रतिको प्रेमबारे प्रश्न गर्दै भने, ‘तपाईंले पत्नी र आफ्नी छोरीकी आमालाई देखाएको प्रेम भनेको उनको शरीर टुक्राटुक्रा पार्नु र फोहोरको डस्टबिनमा हाल्नु हो ?’
भट्टले आफूले गरेका काम स्वीकार गरेको जवाफ दिए ।
अभियोजन पक्षले नगदमा सामान किनेको, मोबाइल फोन बन्द गरेको र घटनासँग सम्बन्धित प्रमाण हटाएको विषयमा पनि प्रश्न गरेको थियो ।
नागरिकता आवेदनमा जन्मस्थानबारे विवाद
अभियोजन पक्षले भट्टले अमेरिकी नागरिकता आवेदनमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा बयान दिँदा भारतको नयाँदिल्लीमा जन्मिएको बताएको विषयसमेत उठाएको थियो ।
‘यो झुट हो,’ अभियोजन पक्षका वकिल स्वीटले भने ।
जवाफमा भट्टले ‘यो झुट होइन, संस्कृति हो’ भनेका थिए । उनको जवाफपछि अदालतमा उपस्थित व्यक्तिहरूबीच आश्चर्य र हाँसोको प्रतिक्रिया देखिएको थियो ।
बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएको थियो । त्यसपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरेकी थिइन् ।
प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने काम सक्ने जनाएको छ ।
कार्पेटमा भेटिएको रगत ममताकै भएको फरेन्सिक विज्ञको दाबी
यसअघि सोमबार सरकारी वकिल पक्षले आफ्नो प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको थियो। अभियोजन पक्षले फरेन्सिक विज्ञ, पारिवारिक साथी र ममताका भाइ महेश काफ्लेलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो।
अदालतमा बयान दिने फरेन्सिक विज्ञान विभागका एक विशेषज्ञले मुख्य सुत्ने कोठाको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त उच्च रहेको बताएका थिए।
फरेन्सिक प्रमाण विश्लेषक आइरिस डेली ग्राफले पनि घटनास्थलको विश्लेषण प्रस्तुत गर्दै अभियोजन पक्षको दाबीलाई बल पुर्याउने प्रमाणबारे व्याख्या गरेकी थिइन्।
उनका अनुसार कोठामा रहेको खाट सुरुमा एक ठाउँमा थियो तर पछि सारिएको देखिन्छ। खाट सारेर कार्पेटमा रगत लागेको भाग छोपिएको हुन सक्ने उनको विश्लेषण थियो।
कार्पेटको माथिल्लो भागमा रगतका केही दाग नदेखिनु र तल्लो भागमा रगत भेटिनुले कार्पेट सफा गरिएको हुन सक्ने संकेत गर्ने उनले बताइन्। उनले खाटनजिकैबाट मुख्य बाथरुमसम्म रगत घिसारिएको हुन सक्ने अवस्थासमेत चित्रमार्फत प्रस्तुत गरेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij