२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन् ।
चलचित्रमा हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीसहित पाँच पाण्डवलाई आपत्तिजनक ढङ्गले चित्रण गरिएको भन्दै सामाजिक सञ्जाल तथा धार्मिक संघसंस्थाहरूले विरोध जनाउँदै आएका छन् ।
विरोध चर्किएपछि गृह मन्त्रालयले चलचित्रको प्रदर्शन तत्काल रोक्न पहल गरेको हो । सञ्चार मन्त्रालयका एक कर्मचारीका अनुसार गृहमन्त्रीबाट हाललाई चलचित्रको प्रदर्शन रोक्न मौखिक निर्देशन आएको छ । यस विषयमा औपचारिक प्रक्रिया भने अगाडि बढ्न बाँकी रहेको उनले बताएका छन् ।
यसैबीच, चलचित्रका कलाकार हरिवंश आचार्यले भने चलचित्र टिमलाई मन्त्रालयबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् ।
हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले चलचित्रमा धार्मिक पात्रहरूको गलत चित्रण गरिएको भन्दै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए ।
हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्र यही महिनाको २० गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij