२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् ।
बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर देखाउने सपना देखाएका शाहरुखसँग न विदेश जाने टिकट किन्ने पैसा थियो, न त त्यो वाचा पूरा गर्ने आर्थिक हैसियत ।
त्यसैले, उनले एउटा जुक्ति निकाले । पेरिस जाने भन्दै गौरीलाई दार्जिलिङ लगे । सुन्दा फिल्मी कथाजस्तो लाग्न सक्छ । तर, यो शाहरुख र गौरीको सुरुवाती संघर्षरत दिनको पुरानो किस्सा हो ।
आफूसँग पैसा नभएको अवस्थामा गौरीलाई गरेको वाचा र त्यसलाई पूरा गर्न नसकेपछि निकालेको उपायबारे शाहरुख आफैंले एउटा अवार्ड समारोहमा सुनाएका थिए ।
त्यतिबेला कार्यक्रम सञ्चालक विक्की कौशलले शाहरुख र गौरीको पुरानो तस्वीर देखाउँदै त्यसबारे सोधेका थिए ।
तस्वीर हेरेपछि शाहरुखले आफ्नो विवाह, त्यो बेलाको आर्थिक अवस्था र हनिमुनको योजनाबारे रमाइलो ढंगले खुलासा गरेका थिए ।
खल्तीमा पैसा थिएन
शाहरुख र गौरीको प्रेम सम्बन्ध सन् १९८८ मा सुरु भएको थियो । दिल्लीमा एउटा पार्टीमा भेट भएका उनीहरूबीचको सम्बन्ध क्रमशः गहिरिँदै गयो । अन्ततः सन् १९९१ अक्टोबर २५ मा उनीहरूले विवाह गरे ।
गौरीको माइतीको थर चिब्बर थियो । विवाहपछि उनी गौरी खानका रूपमा चिनिइन् । त्यतिबेला शाहरुख आजजस्ता चर्चित अभिनेता थिएनन् ।
न उनको नाममा स्टारडम थियो, न ठूलो कमाइको टुंगो । अभिनयको दुनियाँमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका शाहरुखले गौरीसँग विवाह गरेपछि नयाँ जीवनको सुरुवात गरेका थिए ।
शाहरुखले उक्त अवार्ड समारोहमा आफ्नो त्यतिबेलाको आर्थिक अवस्थाबारे खुलाउँदै गौरी आफूभन्दा राम्रो आर्थिक पृष्ठभूमिको परिवारबाट आएको बताएका थिए । उनी आफैं भने आर्थिक रूपमा कमजोर थिए ।
तर, प्रेममा सपना देख्न पैसा चाहिँदैन । शाहरुखले पनि गौरीलाई एउटा सपना देखाए, विवाहपछि उनलाई पेरिस लैजाने र संसारकै चर्चित संरचनामध्ये एक एफिल टावर देखाउने ।
यसरी शाहरुखले सम्झिएका थिए, ‘मैले गौरीलाई विवाहपछि पेरिस लैजान्छु र एफिल टावर देखाउँछु भनेको थिएँ । तर, त्यो सबै झुट थियो । न मसँग पैसा थियो, न हवाई टिकट । तैपनि मैले कुनै न कुनै तरिकाले उनलाई विश्वास दिलाएँ ।’
उनको यो स्वीकारोक्तिमा हाँसो मिसिएको थियो । आज करोडौंको सम्पत्तिका मालिक बनेका शाहरुखको जीवनमा एउटा समय यस्तो पनि थियो, जतिबेला श्रीमतीलाई विदेश घुमाउने वाचा पूरा गर्न सक्ने अवस्था थिएन ।
वाचा त गरियो । अब पूरा कसरी गर्ने ?
शाहरुखसँग यसको सीधा उत्तर थिएन । तर, उनीसँग एउटा अवसर थियो । उनी राज कपुर सन्तोषी निर्देशित फिल्म ‘राजु बन गया जेन्टलम्यान’ को गीत छायांकनका लागि दार्जिलिङ जाँदै थिए ।
त्यही यात्रालाई उनले हनिमुनसँग जोड्ने योजना बनाए ।
उनले अवार्ड समारोहमा हाँस्दै सुनाएका थिए कि गौरीले विदेश खासै यात्रा नगरेकाले आफूले भनेको ठाउँ पत्याउने ठाने । त्यसपछि उनले दार्जिलिङलाई नै पेरिस भनेर गौरीलाई त्यहाँ लगे ।
उनले भनेका थिए, ‘मलाई लाग्यो, गौरी पनि विदेश गएकी छैनन् । त्यसैले मैले उनलाई पेरिस भन्दै दार्जिलिङ लगेँ।’
यसरी पेरिसमा एफिल टावर देखाउने वाचा गरेका शाहरुखले गौरीलाई दार्जिलिङको पहाडमा पुर्याए । विवाह भएको करिब २०–३० दिनपछि उनीहरूले त्यही यात्रालाई हनिमुनका रूपमा बिताए ।
शाहरुखको यो खुलासाले त्यतिबेला उपस्थित दर्शकलाई हँसाएको थियो । किनकि, पर्दामा रोमान्सका बादशाह बनेका अभिनेताको आफ्नै प्रेम जीवनमा यस्तो रमाइलो प्रसंग पनि रहेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij