२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ। रंगेली नगरपालिका र बूढीगंगा गाउँपालिकामा भएको दुर्घटनामा दुई वृद्धवृद्धाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट स्थानीय ७३ वर्षीया सुलेना साहको मृत्यु भएको छ। कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा तेल ट्यांकरको ठक्करबाट अर्का पैदलयात्रीको मृत्यु भएको छ। को १ ख ४५९६ नम्बरको ट्यांकरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–५ का ७२ वर्षीय बलबहादुर थापामगर गम्भीर घाइते भएका थिए। उनको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij