Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

मदिराले मातेका देवरको कुटाइबाट भाउजूको मृत्यु

मदिराले मातेका देवरको कुटाइबाट भाउजूको मृत्यु


  • 505
    Shares

    मदिराले मातेका देवरको कुटाइबाट भाउजूको मृत्यु
    images

    काठमाडौं । गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको छ ।

    मालिका गाउँपालिका–२, खोलाखर्ककी ४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले उनका ४६ वर्षीय देवर बलबहादुर खत्रीलाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असोज २५ गते साँझ करिब ७ बजे मादक पदार्थ सेवन गरी आएका बलबहादुरले भाउजू लिलामाथि कुटपिट गरेका थिए ।


    कुटपिटबाट लिलाको टाउकोमा चोट लागेको थियो । घटनाबारे सोही दिन साँझ साढे ७ बजे प्रहरी चौकी पौदीअमराईमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक उदयभान यादवको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    गम्भीर घाइते लिलालाई प्रहरीले उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पठाएको थियो । उनी अस्पतालमा उपचाररत थिइन् । घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोप लागेका बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।

    अस्पतालमा उपचाररत लिलालाई असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले घर लैजाने भन्दै अस्पतालबाट लगेका थिए । उपचार पूरा नहुँदै उनलाई घर फर्काउन लागिएको र बाटोमै स्वास्थ्य अवस्थाबारे शंका उत्पन्न भएपछि परिवारले उनलाई गुल्मी अस्पताल, तम्घासमा जाँचका लागि पुर्‍याएको थियो ।

    गुल्मी अस्पतालमा जाँच गर्दा चिकित्सकले सोही दिन दिउँसो लिलालाई मृत घोषणा गरेका थिए । त्यसपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली खटिएको थियो । असोज २८ गते साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए ।

    त्यसपछि शव अन्त्येष्टिका लागि लगिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार घटनामा संलग्न रहेको आरोपमा बलबहादुरविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

    मालिका वडा नं २ का वडाध्यक्ष विनोद श्रीसका अनुसार पहिलेबाट मानसिक असन्तुलन भएका बलबहादुरले मदिरा सेवन गरेर झगडा गरेपछि भाउजूमाथि आक्रमण गरेका हुन् । बलबहादुरका दाजु र तीन छोराछोरी पनि घरमै रहे पनि मदिराले मातेका उनको आक्रमणबाट बचाउन भने सकेनन् ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १०:३१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij