२०८३ आश्विन २० गते मंगलवार
काठमाडौं । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्न सकेको छैन । बजेट पेस नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने रकम छैन । बजेट अभावमा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणसम्म प्रभावित भएका छन् ।
मंगलबार बिहान ११ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी छ । बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न समितिको बैठक बोलाइएको हो । बैठकमा बुधबार अपराह्न ५ बजे प्रदेश सभा बैठक आह्वान गर्ने र बजेट पेस गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैबिच मुख्यमन्त्री खगराज भट्ट अस्वस्थताका कारण घरमै आराम गरिरहेका छन् । जसले गर्दा बुधबार बजेट पेस हुने सम्भावना पनि न्यून रहेको निकट स्रोत बताउँछ ।
मुख्यमन्त्री भट्टको सचिवालय स्रोतका अनुसार दौडधुपका कारण उनी बिरामी भएका हुन् । ‘उहाँ बिरामी हुनुहुन्छ । साह्रै दौडधुप भयो, अहिले आराममा हुनुहुन्छ,ु सचिवालयका एक सदस्यले भने ।
यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गरेको थियो । त्यतिबेला ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस गरिएको थियो ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सरकार अल्पमतमा परेपछि बजेट पारित हुन सकेको थिएन । शाहले साउन २८ गते मुख्यमन्त्री पदबाट राजीनामा दिए ।
त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बने । नयाँ सरकारले भदौभित्रै बजेट भने पनि असोज बित्नलाग्दा समेत बजेट पेस हुन सकेको छैन ।
बजेटको आकार कत्रो हुने, उपलब्ध स्रोतलाई कसरी बाँडफाँट गर्ने र विभिन्न तहबाट आएका योजनालाई कसरी समेट्ने भन्ने विषयमा सरकारभित्रै सहमति जुट्न नसकेको आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए ।
उनका अनुसार प्रदेशसँग अहिले करिब ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको स्रोत उपलब्ध छ । प्रशासनिक खर्च, पुराना दायित्व, सम्पन्न आयोजनाको भुक्तानी तथा नयाँ योजनाको माग सम्बोधन गर्न यो रकम पर्याप्त नहुने देखिएको छ ।
अघिल्लो सरकारले ल्याएको ३७ अर्ब ७० करोडकै आकारमा बजेट बनाउने कि वास्तविक स्रोतअनुसार बजेटको आकार घटाउने भन्ने विषय पनि नटुङ्गिएको ती कर्मचारीले जानकारी दिए ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भने केही दिनभित्रै बजेट ल्याउने तयारी भइरहेको बताए । ‘हामी तयारीमा छौँ, जति सक्यो चाँडो बजेट ल्याउँछौँ । हिजोभन्दा राम्रो र जनमुखी बजेट ल्याउने तयारीमा छौँ,ु उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij