२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक विवरणअनुसार शाहीको परिवारको नाममा मुगुमा घर तथा विभिन्न कित्ता जग्गा रहेको उल्लेख छ । उनकी आमा ऐशा शाहीको नाममा सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलको घर छ । उक्त सम्पत्तिको स्रोत पैतृक रहेको जनाइएको छ । त्यस्तै, उनकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको घर रहेको छ, जसको स्रोत बकसपत्र उल्लेख गरिएको छ ।
शाहीको नाममा साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ । उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा रहेको र उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ । आमाको नाममा जिमाका विभिन्न स्थानमा २२ भन्दा बढी कित्ता जग्गा रहेको तथा ती सबै पैतृक सम्पत्ति भएको जनाइएको छ ।
सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीसँग १० तोला सुन र १० तोला चाँदी छ । सुनमध्ये केही पैतृक तथा केही शिक्षकको तलब, व्यवसाय र पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरिएको छ । त्यस्तै, उनको बैंक खातामा २ लाख रुपैयाँ मौज्दात रहेको छ भने कृषि विकास बैंक, मुगुबाट २०७९ असारमा १८ लाख रुपैयाँ ऋण लिएको र केही रकम भुक्तानी गरिसकेको जनाइएको छ ।
शाहीको नाममा कुनै कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र नरहेको विवरणमा उल्लेख छ । सवारीसाधनतर्फ उनकी छोरीको नाममा २०७५ सालमा २ लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ । चारपाङ्ग्रे निजी सवारी भने नरहेको जनाइएको छ ।
यस्तै, शाहीसँग सात वटा गाई/गोरु रहेको विवरणमा उल्लेख छ । उनका नाममा ९० हजार रुपैयाँको सामसुङ र ६० हजार रुपैयाँको भिभो मोबाइल, १ लाख १० हजार रुपैयाँको क्यामरा तथा ९० हजार रुपैयाँको ल्यापटप रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij