२०८३ आश्विन १९ गते सोमवार
१. संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न
सांसदहरूले मुलुकको वर्तमान न्याय प्रणाली र महिला सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको सोमवारको छलफलमा सहभागी सांसदहरूले महिलाविरुद्धका जघन्य अपराध नियन्त्रण, न्यायमा सहज पहुँच तथा मेलमिलाप परिषद्को कानूनी संरचनामाथि व्यापक सुधारको खाँचो औंल्याएका हुन् । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मुलुकमा महिला सुरक्षा र आत्मसम्मानको विषय ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
२. व्यापार र आयातका झन्झट हटाएर मात्रै बजार मूल्य नियन्त्रण सम्भवः संसदीय समिति
बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट (ब्यारियर्स) हटाएर आपूर्ति बढाउनुपर्नेमा संसदीय समितिले जोड दिएको छ । सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खुला प्रतिष्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताउनुभएको हो ।
३. वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत
सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिव १० करोड नेपाली रूपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
४. विपद् प्रभावितलाई राहत दिन कानून संशोधन गर्न प्रधानमन्त्रीसँग आङदेम्बेको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउन हालको कानूनी व्यवस्था वाधक बनेको भन्दै कानून संशोधनको माग गर्नुभएको छ । सोमवार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपद् प्रभावित क्षेत्रलाई ‘विशिष्ट अवस्था’ मानी पीडितलाई तत्काल राहत, बीमा र सम्पती नामसारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
५. वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमले दुई ठूला वित्तीय संस्थाबाट लिएको ऋणलाई धान्नै नसकिने भन्न नमिल्ने उल्लेख गर्नुभएको हो ।
६. ब्याजदरको भारले थिचिएको निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड
नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ वक्यौताका कारण निगम आर्थिक संकटमा परेको छ । सोमवार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधारको आवश्यकता औँल्याउनुभएको हो ।
७. फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने स्पष्ट पार्नुभएको छ । सोमवार बसेको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै यस्तो बताउनुभएको हो । बैठकमा बोल्दै मन्त्री गौतमले मेलमिलाप ऐनको मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाहरूको निरुपण रहेको बताउनु भयो ।
८. पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो
पोखरा महानगरपालिकाले फेवातालको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित फिर्के खोलाको अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । असोज १५ गतेबाट शुरु गरिएको अभियान अन्तर्गत हालसम्म खोलाको मापदण्ड मिचेर निर्माण गरिएका २६ वटा पक्की संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरपालिकाले केवल अवैध संरचना हटाउने कार्यमा मात्र सीमित नरही, खोलाका दुवै किनारमा करिडोर (ट्र्याक) निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाएको छ ।
९.नेपाली काँग्रेसमा ‘एक व्यक्ति, एक पद’ को नीतिः प्रदेश सभापतिलाई थप शक्तिशाली बनाउने नेतृत्वको तयारी
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को अवधारणा कडाइका साथ लागू गर्ने संकेत गर्नुभएको छ । १५ औँ महाधिवेशनमा सोमवार बन्दसत्रमा आफ्ना धारणा राख्दै उहाँले अब केन्द्रिय समितिमा रहेका नेताहरूले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा उम्मेदवारी दिँदा प्राथमिकता नपाउने र उनीहरूलाई टिकट वितरण प्रक्रियाबाट बाहिर राखिने चेतावनी दिनुभएको हो । थापाले पार्टी संगठनलाई थप सुदृढ र व्यावसायिक बनाउन यो कदम आवश्यक रहेको जिकिर गर्नुभयो । यसअघिका अभ्यासभन्दा फरक ढंगले प्रदेश समितिलाई अधिकारसम्पन्न बनाउने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार, अब गठन हुने प्रदेश समितिहरू केवल नाम मात्रको हुने छैनन् ।
१०. नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले केन्द्रिय कार्यसम्पादन समितिको आकार बढाएर ४१ सदस्यीय बनाउने प्रश्ताव अघि सार्नुभएको छ । पार्टीको विधानलाई समयानुकूल बनाउने उद्देश्यका साथ महाधिवेशनको बन्दसत्रमा यस्तो प्रश्ताव गर्नुभएको हो । सोमवार प्रश्तुत उक्त प्रश्तावमा पार्टीका विभिन्न तहमा नयाँ परिषद् तथा ब्युरो गठन गर्नेसम्मका रणनीतिक व्यवस्था गरिएको छ । महामन्त्री पौडेलले प्रश्तुत गर्नुभएको प्रश्तावअनुसार हाल ३१ सदस्यीय रहेको केन्द्रिय कार्यसम्पादन समितिलाई ४१ सदस्यीय बनाउने गरी विधान संशोधनको खाका अघि सारिएको छ ।
११. नेपाल वायुसेवा निगमको पुनरुत्थानका लागि तीन वर्षे कार्ययोजना आवश्यकः सांसद डा. रेग्मी
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद डा. रेग्मीले निगमले एयरफेयर (हवाई भाडा) नियन्त्रण गर्न थप सक्रिय भुमिका खेल्नुपर्ने बताउनु भयो ।
१२. नेपाल एयरलाइन्सको अधोगतिको मुख्य कारण राजनीतिक हस्तक्षेपः मन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स लगायतका सार्वजनिक संस्थानहरूको ओरालो लाग्दो अवस्थाका लागि राजनीतिक हस्तक्षेप नै मुख्य कारक भएको बताउनुभएको छ । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले विगतमा भर्ना प्रक्रियादेखि खरिद र मर्मतसम्ममा हुने स्वार्थ र कमिसनको खेलले निगमलाई थला पारेको आरोप लगाउनुभएको हो ।
१३. तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
सुनसरी प्रहरीले इनरूवा ३ सखुवागाछी चेक पोष्टबाट २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ ।
१४. डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्यसम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित इन्टरनेट गभर्नेन्ससम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनुपर्नेमा जोड दिनुभएको हो । प्रधानन्यायाधीश शर्माले हालैका दिनमा नेपालले भोगेका प्राकृतिक विपद्ले डिजिटल पूर्वाधारको कमजोरीलाई छर्लङ्ग पारेको उल्लेख गर्नुभयो ।
१५. ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात नभइ मकै उत्पादन गरेर खानुपर्छः मन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनुभएको छ । सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनु भयो ।
१६. गुटको विकल्प नीतिगत बहस र वैचारिक राजनीतिः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत परम्परालाई तोड्दै वैचारिक बहसको संस्कृति विकास गर्ने उद्घोष गर्नुभएको छ । पार्टीको १५ औँ महाधिवेशनमा बन्द सत्रलाई सोमवार सम्बोधन गर्दै उहाँले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन गुटको विकल्पमा नीतिगत बहस र नागरिकको विश्वास जित्ने संस्कारको खाँचो रहेको बताउनुभएको हो । उपसभापति शर्माले लोकतान्त्रिक पार्टीमा फरक मत र प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै गुटको अन्त्यको अर्थ विचारलाई निषेध गर्नु नभएको स्पष्ट पार्नुभयो ।
१७. खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने
सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ । सो कार्य अघि बढाउन शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको हो । सोमवार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
१८. कीर्तिमानी धावक हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित
कर्णाली प्रदेशको खेलकुद क्षेत्रका प्रेरणादायी व्यक्तित्व तथा कीर्तिमानी धावक हरिबहादुर रोकायालाई ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’का रूपमा सम्मान गरिएको छ । कर्णाली याक्स स्पोट्र्स प्रालिद्वारा आयोजित विशेष समारोहमा उनलाई २ लाख ५० हजार नगद राशिसहित सम्मान गरिएको हो।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र कर्णाली याक्स स्पोट्र्सका अध्यक्ष गिहेन्द्र घिमिरेले संयुक्त रूपमा रोकायालाई सम्मानपत्र प्रदान गर्नुभएको हो । यस सम्मानसँगै रोकाया अब कर्णाली याक्स टोलीको ब्रान्ड एम्बेसडरका रूपमा जोडिनुभएको छ ।
१९. काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार
नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो । समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेसागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले काँग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चालिसेले बताउनु भयो । काँग्रेसले आफ्नो विधानलाई समयसापेक्ष बनाउँदै सांगठनिक संरचनालाई थप विस्तार गरेको छ ।
२०. औद्योगिक समस्या समाधानमा नीतिगत सुधारको खाँचोः सांसदहरू
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले औद्योगिक क्षेत्रका नीतिगत जटिलता र व्यावहारिक समस्या समाधानका लागि राज्यले तत्काल पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।
सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सांसदहरूले उद्योगी–व्यवसायीका समस्या सुन्ने ढिलासुस्ती र सरकारी बिदाको अधिकताले मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गरेका हुन् ।
२१. एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन
चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीका जोखिमलाई न्युनिकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीका विषयमा व्यावहारिक ज्ञान दिइएको हो । दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गर्नुभयो ।
२२. उद्योग विस्तारका कानूनी र प्रक्रियागत अड्चन फुकाउन सरकार प्रतिवद्धः मन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न विद्यमान कानूनी तथा प्रशासनिक अड्चन तत्काल सम्बोधन गरिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र सुशासनमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । संसदीय समितिको बैठकमा मन्त्रालयको कार्यदिशा प्रश्तुत गर्दै मन्त्री साहले कानून र प्रशासनिक प्रक्रिया जहाँ बाधक छन्, त्यहाँ तत्काल सुधार थालिने प्रष्ट पार्नुभयो ।
२३. ‘टालटुले सुधार होइन, नेपाल एयरलाइन्सको ‘मेगा अपरेसन’ नै आवश्यक छ’ः निमित्त महाप्रवन्धक कालाखेती
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै संस्थालाई बचाउन वृहत शल्यक्रिया अर्थात ‘मेगा अपरेसन’ कै खाँचो रहेको नेतृत्वले स्पष्ट पारेको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझाव कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थागत पुनर्संरचनाको आवश्यकता औंल्याउनुभएको हो ।
२४. टर्कीमा लागुऔषध विरुद्धको ठूलो कारबाहीः ९८६ केजी लागुपदार्थसहित १२ सयभन्दा बढी पक्राउ
टर्कीमा लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि चलाइएको देशव्यापी विशेष सुरक्षा कारबाहीमा झन्डै एक हजार किलोग्राम लागुपदार्थ बरामद भएको छ । टर्कीको गृह मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार ७५ प्रान्तमा गरिएको समन्वयकारी अपरेसनका क्रममा ९८६ केजी लागुपदार्थ र १५ लाख ४० हजार थान लागुऔषधजन्य चक्की बरामद गरिएको हो ।
२५. नान्टाकेट तटमा दुर्घटनाग्रस्त एम्बुलेन्स विमानका यात्रु र ‘ब्ल्याक बक्स’को खोजी तिब्र
संयुक्त राज्य अमेरिकाको नान्टाकेट तट नजिकै दुर्घटनाग्रस्त भएको एयर एम्बुलेन्समा सवार ६ जना यात्रु र विमानको ‘ब्ल्याक बक्स’को खोजी कार्य जारी छ । फेडरल एभिएसन एडमिनिस्ट्रेससँग सम्पर्क विच्छेद भएको सो विमानका भग्नावशेषहरू समुद्रमा फेला परेपछि अमेरिकी तटीय सुरक्षा बलले उद्धार र अनुसन्धान कार्यलाई तिब्रता दिएको हो ।सो विमान शनिवार बिहान बर्मुडास्थित एल.एफ. वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडिरहेको थियो ।
२६. ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिष्पर्धा, निर्णय दोस्रो चरणको मतदानबाट
ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कुनैपनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अब सत्ताको टुङ्गो दोस्रो चरणको मतदानबाट लाग्ने भएको छ । निर्वाचन आयोगकाअनुसार प्रारम्भिक मत परिणाममा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र लिबरल पार्टीका फ्लेभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा देखिएको छ । आईतवार सार्वजनिक भएको ९९ प्रतिशतभन्दा बढी मतगणनाको नतिजाले निर्वाचनलाई दोस्रो चरणमा धकेलेको छ ।
२७. भोटेकोशी बाढीले पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी तथ्यांक सार्वजानिक गर्दैछौँः उपाध्यक्ष भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भोटेकोशी बाढीले पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी प्रारम्भिक तथ्यांक सार्वजानिक गर्ने तयारी गरिएको बताउनुभएको छ । पूर्वयोजनाकार मञ्चद्वारा आयोजित कार्यक्रममा उहाँले आयोगले विपद्को क्षति तथा नोक्शानी मूल्यांकनका लागि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । आयोगले पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र, विपद् उत्थानशीलता तथा पुनःस्थापना, क्रस–कटिङ विषय र समग्र वृहत अर्थतन्त्रमा परेको प्रभावलाई छुट्टाछुट्टै अध्ययन गरिरहेको उहाँको भनाई छ ।
२८. मलेसियाबाट शुरु भएको श्रम सिण्डिकेट अन्य मुलुकमा पनि लाग्न सक्छ, सचेत बनौँः अध्यक्ष खत्री
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाबाट शुरु भएको श्रम सिण्डिकेट अन्य मुलुकमा पनि लाग्न सक्ने चेतावनी दिनुभएको छ । संघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनैपनि प्रकारको सिन्डिकेटलाई सरकारले मान्यता दिन नहुने बताउनुभएको हो । उहाँले मलेसियामा नेपाली श्रमिक भर्तीका लागि सीमित वैदेशिक रोजगार व्यवसायीलाई मात्र छनोट गरी कामदार पठाउने व्यवस्था तत्काल खारेज हुनुपर्ने बताउनु भयो । उहाँले यसअघि पनि पटक पटक मलेसियाको श्रमिक भर्ती प्रक्रियालाई सीमित संस्थाको नियन्त्रणमा लैजाने प्रयास भएको बताउनु भयो । सरकार र संघको संयुक्त सहकार्यमा तीन पटक सिन्डिकेटलाई असलफल पारेको उहाँको भनाई छ ।
२९. विपद्अनुसार पुनर्निर्माणको मापदण्ड पनि फरक फरक हुनुपर्छः प्राधिकरण प्रमुख उप्रेती
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्पछिको पुनर्निर्माणको मापदण्ड फरक फरक हुनुपर्ने बताउनुभएको छ । पूर्वयोजनाकार मञ्चद्धारा आयोजित कार्यक्रममा उहाँले विपद्का प्रकृति फरक हुने भएकाले विपद्पछिको पुनर्निर्माणको परिभाषा र मापदण्ड पनि विपद्अनुसार फरक हुनुपर्ने बताउनुभएको हो । उहाँले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुनःनिर्माणसम्बन्धी काम भइरहेको बताउनु भयो ।
३०. अब चुनावमा पार्टीको उम्मेदवार काठमाडौंले छान्दैनः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गर्नुभएको भएको हो । निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उहाँको प्रश्ताव छ । उहाँले पार्टीमा सबैभन्दा बलियो सभापति नभई पार्टी सदस्य हुनुपर्ने गरी पार्टीको अगामी नीति र कार्यदिशा तय गर्नुपर्ने बताउनु भयो ।
३१. काँग्रेस सभापति थापाको संकल्पः ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्षको उम्मेदवार महिलालाई बनाउँछौँ
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अगामी स्थानीय तह निर्वाचनमा ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने संकल्प गर्नुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो संकल्प गरेको बताउनुभएको हो । यसका लागि पार्टी केन्द्रीय कार्यालयमा इलेक्सन ब्यूरो बनाउने सभापति थापाको भनाइ छ । उहाँकाअनुसार उक्त ब्यूरोले उम्मेदवार चयन गर्नेछ ।
३२. काँग्रेसले संसदमा हस्तक्षेपकारी भूमिका अझै सशक्त बनाउनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले संसदमा नागरिकका मुद्दा उठाउने मात्र नभई सम्बोधन गर्न सरकारलाई बाध्य बनाउनेगरी हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेस सहभागि भएको प्रदेश सरकारका काम कारबाहीलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली काँग्रेसले आफ्नो जिम्मेवारी सरकार र संसदमा हेरेर मात्र नपुग्ने बताउनु भयो । उहाँले पछिल्लो समय घरघरमा र परिवारमा समस्या रहेको भन्दै त्यसतर्फ पार्टी पंक्ति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
३३. गगनको विश्लेषण–मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्नसक्छ
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गर्नुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिएपनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको बताउनु भयो ।
३४. जलवायु परिवर्तनअनुकूल सडक, पुल निर्माण गर्न डिजाइन कोड नै पुनरावलोकन गर्नुपर्ने देखियोः महानिर्देशक जैसी
सडक विभागका महानिर्देशक डा. विजय जैसीले जलवायु परिवर्तनका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गएकाले अब पुरानै ढर्रामा पुलहरु बन्न नसक्ने अवस्था आएको बताउनुभएको छ ।
बाढी पहिरोले सडकपूर्वाधारमा गरेको क्षति र अबको पूननिर्माणका बारेमा सोमवार नेपाल पूर्वाधार पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा अब सडक तथा पुलका संरचनाको डिजाइन मापदण्ड पुनरावलोकन गरेरै अघि बढ्नुपर्ने अवस्था देखिएको बताउनुभएको हो ।
३५. नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिवद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यसअघि भएका लगानी सम्मेलन तथा सम्मेलनबाहेक आन्तरिक र वाह्य लगानीकर्तासँग भएका छलफलबाट आएका सबै लगानी प्रस्तावलाई नयाँ कानून बनाएर कार्यान्वयनमा लैजाने तयारी भएको बताउनु भयो ।
३६. प्रक्रिया नै वाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन्ः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलानमन्त्री सोविता गौतमले लगानीको वातावरण सुधारका लागि कानूनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले नेपालमा लगानी भित्र्याउनका लागि प्रक्रियागत झन्झट हटाउनुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार ‘नेपालमा लगानी गर’ भनेर ठूला–ठूला कार्यक्रम गरे पनि प्रक्रिया नै बाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन् ।
३७. फास्टट्रयाकमा सेनाको गल्ती भेटियो, खरिद प्रक्रियामा दलालहरु छिरेका छन्ः योजना आयोगका सदस्य थापा
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौं–तराई÷मधेस फास्टट्रयाक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ति भएको आरोप लगाउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनोटमा गल्ती गरेको हुनसक्ने बताउनुभएको हो । उहाँकाअनुसार नेपाली सेनाले खुलाएका खरिद प्रक्रियामा केही दलालहरू छिरेका छन् । उनीहरूले कुनै निश्चित कम्पनी वा निश्चित किसिमको सामग्री नै चाहिने गरी स्पेसिफिकेसन राखिदिएछन् ।
३८. सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू हुनुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजश्व सिर्जनामा समेत सहयोग पुग्ने बताउनुभएको हो । ढकालले महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवद्र्धनसम्बन्धी कानूनहरू पुरानो र परम्परागत रहेको भन्दै तिनमा सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र बनाउनुपर्ने प्रश्ताव आफूहरूले अघि सारेको स्मरण गर्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij