२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं। सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाको योजनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने ठहर गर्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्ने भएको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त रकमका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
जसअन्तर्गत विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ। बैठकमा बोल्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि त्यसरी नै अघि बढाइने बताएका छन्।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij