२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धारको चरणलाई अत्यावश्यकबाहेक तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब उद्धारसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने भएको छ।
प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले सम्बन्धित निकायलाई पुनर्निर्माण र पुनर्स्थापनाका काम तीव्र बनाउन निर्देशन दिएको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस तथा स्थलगत अध्ययनका आधारमा यस्तो निर्णय गरिएको हो।
बैठकले प्रभावित क्षेत्रका लागि प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउन ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।
लागत अनुमान र प्राथमिकता निर्धारण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेट व्यवस्थाका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहले पुनर्निर्माण तथा पुनर्स्थापनाको काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा अघि बढाइने बताए। बैठकमा सहभागी विपक्षी दलका प्रतिनिधि तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले पनि सरकारको पुनर्निर्माण अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
परिषद्ले बाढी तथा मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै खोज, उद्धार, राहत र पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक, सञ्चारकर्मी तथा सहयोगी संस्था र साझेदारहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij