२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाका कारण व्यापार व्यवसाय प्रभावित भएको गुनासो गरेका छन्। सोमबार उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता समितिको बैठकमा उनीहरूले लगातारको बिदा र बैंक बन्द हुँदा कारोबारमा समस्या परेको बताएका हुन्।
उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले दुई दिने साप्ताहिक बिदासहित वर्षमा थप ४० दिन सार्वजनिक बिदा हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। उनका अनुसार सार्वजनिक बिदाका कारण बैंकिङ सेवा समेत बन्द हुँदा उद्योग तथा व्यापार क्षेत्र प्रभावित भइरहेको छ।
गौतमले सरकारले सार्वजनिक बिदाको संख्या ४० बाट घटाएर १५ दिनमा सीमित गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनले दुई दिने साप्ताहिक बिदाको व्यवस्था समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे।
बैठकमा उद्योगीहरूले बैंक तथा वित्तीय संस्थालाई श्रम ऐनअनुसार बिदा दिने व्यवस्था मिलाउनुपर्ने मागसमेत गरेका छन्। उनीहरूले व्यवसाय सञ्चालन र बैंकिङ सेवा निरन्तर राख्न बिदा व्यवस्थापनमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij